काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट प्रदायक कम्पनीहरुलाई स्वस्थ प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले अहिले रहेका इन्टरनेट कम्पनीहरुको सेवा गुणस्तरीयता नभएको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
इन्टरनेट सेवा अवरुद्ध हुँदाको अवस्थामा सेवाग्राहीलाई त्यस बापत बराबरको सेवा उपलब्ध गराउने शर्त समेत कम्पनीहरुले नमानेको बताए ।
‘हरेक व्यक्ति प्रविधिसँग जोडिन चाहान्छ । राज्यले सबै क्षेत्रलाई प्रविधिकरण गर्ने राष्ट्रिय अभियान जस्तै शुरु गरेको छ । प्रविधिकरणका लागि इन्टरनेट अनिवार्य हुन्छ । अहिले उपलब्ध सेवामा गुणस्तरियता, गति क्षमता र निरन्तरता केही पनि छैन ।’ सांसद पौडेलले भने, ‘सेवा अवरुद्ध हुँदा अवधि बराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने शर्त समेत पालना गरिएको छैन । इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिष्पर्धा गरिरहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवाको गुणस्तर वृद्धि गर्नु भन्दा रातारात मिलेर मूल्य बढाउन लाग्ने छन् भन्ने सुन्नमा आएको छ । त्यसर्थ इन्टरनेट कम्पनीहरुले मिलिमतोमा सेवा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरुलाई स्वस्थ प्रतिष्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न म सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
त्यसैगरी आम सेवाग्राही मारमा पर्नेगरी सेवाग्राहीको मल्टिपल छनोटको अधिकारलाई वेवास्ता गर्नेगरी बजारलाई प्रतिष्पर्धाएबाट बिमुख गराउन नपाइने समेत बताए ।
‘आम सेवाग्राही मारमा पर्ने गरी सेवाग्राहीको मल्टिपल छनोटको अधिकारलाई समेत वेवास्ता गरी बजारलाई प्रतिष्पर्धाबाट बिमुख गराउन पाइँदैन ।’ सांसद पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया