‘बहुलाह मेयर’ को संज्ञा दिएपछि एमाले नेता रिमाललाई हर्क साम्पाङले भने- ‘गुइँठे’

लोकपथ
221
Shares

काठमाडौं । सार्वजनिक कार्यक्रममा गरेको एका भाषणको विषयलाई लिएर अहिले नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

उनले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा दैनिक ५० हजार लाइक आए पार्टीले चुनावमा बहुमत ल्याउने टिप्पणी गरेका थिए । साथै काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङले पोस्ट गरेको एक घण्टामै हजारौँ लाइक आउने गरेको टिप्पणी गरे ।

सार्वजनिक कार्यक्रममा बोल्दै उनले धरानका मेयर साम्पाङलाई ‘बहुलाह टाइपको मेयर’ भन्दै कटाक्ष गरेका छन् ।

उनले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘हामीले के बुझौँ भने कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार भन्दा लाइक आयो भने नियमित भयो भने बुझ्नुहोस् पार्टीले बहुमत ल्यायो । त्यहाँ भन्दा बढी टाउको दुखाउनै पर्दैन । कान्तिपुरले के लेख्यो हेर्नै पर्दैन । तर हामी गरिराछैनौँ अर्काले गरिराछ । काठमाडौंको मेयरले यसो खासखुस गर्नासाथै नचाहिँदो कुरा लेख्नासाथै फेसबुकमा ८०–९० हजार देखिन्छ । अनि धरानतिरको एउटा बहुलाह टाइपको मेयर छ है काम त अब राम्रै गर्या होला । धरान बाहिर त पपुलर छ तर धरानमा चाँही कति छ थाहा छैन । उसको पनि एक घण्टामा ४०–५० हजार लाइक गर्या देख्छु मैले । त्यसपछि एउटा स्वतन्त्र पार्टीका सभापतिले राख्ने गरेको देख्छु मैले उसको चाँही १ घण्टामा ३०–४० हजारले लाइक गर्या देख्छु । त्यसकारणले उनीहरुको त्यहि लयमा गइराखेको हुन्छ । कहिलेकाँही लेख्न मन लागेन भने पनि तिनिहरुबाट सिकौँ । जय सूर्य लेखौँ न, सूर्यको फोटो हालौँ न सक्किगो नि ।’

त्यसको प्रतिउत्तरमा मेयर साम्पाङले उनलाई गुइँठडको संज्ञा दिँदै आफूले त्यस कुरामा आफूले प्रतिवाद नगर्ने टिप्पणी गरेका छन् ।

‘बिष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म ! मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु !’ मेयर साम्पाङले भनेका छन् ।

यता उपमहासचिव रिमालले आफूमाथि चर्को आलोचना हुन थालेपछि आफ्नो गल्ती स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै रिमालले मेयर साम्पाङले बहुलाएरै पानी खुवाएको बताए । आफ्नो भनाइलाई सच्याँउदै बहुलाह पाराले काम गरेको बताए ।

‘अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर! म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ । हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद!’ उनले भने ।

त्यस्तै यसअघि विभिन्न समयमा उनको दलका अध्यक्ष केपी शर्मा ओलीले बहुलाह पाराले काम गर्दा विभिन्न झमेला ब्यहोरेको स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?