बालबालिकाको निम्ती शनिबार आर्ट कार्यशाला हुँदै

लोकपथ
0
Shares

काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ ।

नेपाल इन्टरनेट फाउन्डेसनले जेठ ६ गते शनिबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो ।
कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्ने छन् । इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ आयोजना गरिने यो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न सक्ने आयोजकको दाबी छ । ‘बालबालिकाहरूलाई आफूलाई अभिव्यक्त गर्न र आफ्नो सिर्जनात्मक क्षमता पत्ता लगाउन सक्ने सकारात्मक र पालनपोषण गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौं,’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन्।

कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ । साथै उनले यसको समाचार प्रकाशन तथा प्रसारण गरिदिनको लागि सम्पूर्ण मिडिया, समुदायका अगुवा, कलाप्रेमीलाई सहभागी हुन अपीलसमेत गरेकी छिन् । कोरोना महामारीकै बेला शुुुरू गरिएको नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रुप हो ।

यसले कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने लक्ष्य राखेको आयोजको भनाइ छ । यो अभियानलाई निशुल्क रुपमा वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेट प्रदान गरेको छ ।
हाल वल्र्डलिंककै सहयोगमा बूढानीलकण्ठ नगरपालिकामा रहेका ३९ बालबालिकाको घरमध्ये २१ वटा बालबालिकाको घरमा निशुल्क इन्टरनेट जडान गरेर उनीहरुको प्रतिभारकलालाई निखार्ने काममा थप सहयोग पुगिरहेको आयोजकको दाबी छ । भोलि हुने कार्यशालामा सिद्धहस्त कलाकार तथा सल्लाहकारहरूले बालबालिकालाई सिकाउनेछन्, जसमा विभिन्न कला प्रविधि र माध्यमहरू हुनेछन् ।

उक्त कार्यशालामा सहभागी हुने तथा अतिथिहरूले १ हजारको टिकट खरिद गर्नुपर्नेछ । चित्रकला, रेखाचित्र र स्क्र्याचलगायत कलात्मक अभिव्यक्तिका विभिन्न रूपहरू सिक्ने र प्रयोग गर्ने अवसर पाउनेछन् । कार्यशालामा ५०० रूपैयाँ शुल्क तिरेर आफैले गरेको पेन्टिङ थप ५०० रूपैयाँ तिरेर घर समेत लैजान सकिने आयोजकले जनाएको छ । अन्यथा उक्त पेन्टिङलाई त्यहाँ दान दिनु पर्नेछ । सो पेन्टिङलाई आयोजकले बिक्री गरेर आएको रकम बालिबालिकाका लागि इन्टरनेट पहुँचमा खर्च गर्नेछ ।

कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गर्नेछ जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँड्नेछन् । नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वल्र्डलिंक, बुढानिलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?