काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले देशभरका संघिय अस्पतालमा १५ दिनभित्र अनलाइन टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संघिय अस्पतालको सेवालाई सहज बनाउनका लागि अनलाइन टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
साथै, प्रादेशिक अस्पतालहरुमा पनि सोही नियम लागू गर्न प्रादेशीक स्वास्थ्य हेर्ने मन्त्रालयलाई अनुरोध गर्ने उनले बताए । ‘अनलाइनबाट टिकट लिने व्यवस्था गर्दा यसले अस्पतालमा अनावश्यक भीडलाई घटाउँछ,’ मन्त्री बस्नेतले भने, ‘जो अनलाइनको पहुँचमा छैनन् उनीहरुका लागि भने भौतिक रुपमै टिकट काट्ने व्यवस्था हुनेछ ।’
त्यस्तै, संघिय अस्पतालमा रहेको जनरल बेड, आइसियु बेड र रिक्त संख्या अस्पतालको वेवसाइटमा सात दिनभित्र अध्यावधिक गर्नसमेत उनले निर्देशन दिएका छन् । ‘अहिले थुप्रै अस्पतालमा बेड खाली छन् तर बिरामीले पाएनन् भन्ने गुनासो सुनिन आएको छ,’ उनले भने, ‘अस्पतालमा कति बेड खाली छन् कति बेडमा बिरामी भर्ना छन् भन्ने कुरा आमनागरिकले सहजै थाहा पाउन् भन्ने हाम्रो उद्धेश्य हो ।’
मन्त्री बस्नेतले अनावश्यक रुपमा हुने गरेको विदेश भ्रमणमा समेत अंकुश लगाएका छन् । वैदेशीक भ्रमणलाई वैज्ञानिक एवम् व्यवस्थित गर्न यो आर्थिक वर्षमा विदेश भ्रमणमा गएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणबाट भएको उपलब्धिलाई सात दिनभित्र अध्यावधिक गर्न निर्देशन दिएका हुन् ।
यसैगरी, संघिय अस्पतालमा कार्यरत सबै किसिमका कर्मचारीहरुको डिजिटल लिष्ट १५ दिनभित्र अध्यावधिक गर्न मन्त्रालयको प्रशासन शाखालाई निर्देशन दिएका छन् ।
त्यस्तै, स्थान वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरुलाई स्पष्टिकरण सोध्न मन्त्री बस्नेतले निर्देशन दिएका छन् । एक साताअघि मन्त्रीस्तरीय निर्णयअनुसार गठित अस्पताल उपकरण व्यवस्थापन सम्बन्धि अनुगमन समितिको निष्कर्षका आधारमा मन्त्री बस्नेत उक्त निर्देशन दिएका हुन् ।
त्यस्तै, दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसक्ने सामानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिएर आवश्यकता भएका अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने उनले बताए ।
त्यसैगरी, सामग्री खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याए अनुसारका उपकरण मन्त्रालयको समन्वयमा मात्र खरिद गर्ने मन्त्री बस्नेतले जानकारी दिए ।
डब्लूएचओको महासभामा भाग लिन ६ सदस्यीय टोली जेनेभा जाँदै
मन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागि हुन आफूसहित ६ सदस्यीय टोली जेनेभा जान लागेको बताए ।
स्विजरल्याण्डको जेनेभामा आगमी मे २१ देखि ३० तारिखसम्म हुने महासभामा मन्त्री बस्नेतसँगै अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहितको टिम जाँदैछ ।
सो क्रममा मन्त्री बस्नेतको प्रमुख एजेण्डा आगामी सेप्टेम्बरमा हुन गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हो ।
जुन निर्वाचनमा नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा गरिसकेको छ । क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यलय कार्यरत नेपाली डा. शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।
मन्त्री बस्नेतले जेनेभामा रहँदा आचार्यको पक्षमा मत माग्नेछन् । क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दाबी पेश गरिसकेको छ । बंगलादेश सरकारले त्यहाँको प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया