गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता : ‘भ्रष्टाचारमा संलग्न कसैलाई छोड्दिन’

लोकपथ
35
Shares

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै यसमा संलग्न कसैलाई पनि सरकारले नछाड्ने बताएका छन् ।

भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति गराउन लागिपरेको श्रेष्ठको भनाइ छ ।

बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिको टोलीसँगको भेटवार्तामा श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे । ‘नक्कली शरणार्थी प्रकरणमात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन’, उनले भने ।

देशको समृद्धि नहुनुको पछाडि भ्रष्टाचार नै प्रमुख समस्या भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘अहिले पनि हरठाउँमा कमिसनको चक्कर छ । ठूला योजनाहरु अध्ययन बिना कमिसनको चक्करमा ल्याउने काम समेत भएका छन् । यसको जरोकिलो उखेल्नु पर्छ, यो अभियानमा सरकार प्रतिबद्ध भएर लागेको छ ।’

उनले नेपालीलाई नक्क्ली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने प्रतिबद्धता जनाउँदै सोहीअनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाइरहेको बताए ।

‘यसमा प्रधानमनत्तीको दह्रो साथ रहेको छ । देशका प्रमुख दलका नेताहरु पूर्वप्रम शेरबहादुर देउवा र केपी ओलीहरुसँगको भेटमा पनि म कसैको दवावमा पर्दिनँ भनेको छु’, उनले भने, ‘सरकारले कसैलाई छाड्दैन । प्रहरीले निष्पक्ष छानबिन गर्छ । मैले निर्भिकताका साथ काम गर्न भनेको छु ।’

सो क्रममा प्रवास समन्वय समितिका टोलीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रीले चालेको कदमप्रति धन्यवाद दिँदै एक्वेबद्धता जनाएको समितिका अध्यक्ष ओम शर्माले जानकारी दिए ।

समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सरकारले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर पार्टी र विश्वभरका नेपालीको शिर ठाडो भएको बताए । उनले उच्च ओहोदामा भएकाहरुले गल्ती गरेका छन् भने कारबाही हुनुपर्नेमा जोड दिए ।

यसैगरी अध्यक्ष ओम शर्माले प्रवास समन्वय समितिले गरिरहेका कामकारबाहीबारे संक्षिप्तमा जानकारी गराउँदै भ्रष्टाचारविरुद्ध सरकारले गरेको काममा खुट्टा नकमाइकन सम्पन्न गर्न आग्रह गरे । उनले सरकारले गरेको काममा सिंगो प्रवासीहरु खुसी भएको पनि बताए ।

यस्तै शर्माले प्रवासी नेपालीहरुले भोग्नुपरेको समस्या समाधान गर्न शक्तिशाली कमिसन गठन गर्न पनि गृहमन्त्रीमार्फत सरकारलाई विशेष आग्रह गरे । यो विषय सरकारको नीति तथा कार्यक्रममा समेट्न पनि शर्माले आग्रह गरे ।

यसैबीच सो अवसरमा अस्ट्रेलियामा प्राध्यापन गरिरहेका कृष्ण श्रेष्ठले भ्रष्टाचारमा कारबाहीमा दायरमा ल्याइएकाले आग्रह गरे ।

सो अवसरमा वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी र महासचिव कुन्सा दोर्जे डिम्डोङले वैदेशिक रोजगारीका क्रममा श्रमिकहरुले भोग्नुपरेका समस्याबारे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?