गंगालाल अस्पतालले गर्यो हृदयघातबाट पुनर्जिवन पाएकाहरुसँग अन्तक्रिया

लोकपथ
14
Shares

काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले हृदयघातबाट पुनर्जिवन पाएकाहरुसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार विश्व उच्च रक्तचाप दिवसका अवसरमा केन्द्रले हृदयघात जितेकाहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विशेषज्ञ चिकित्सक, नर्स तथा फिजियोथेरापिष्टहरुले प्रस्तुति दिएका थिए । जसमा मुटु रोग विशेषज्ञ डा.दिपांकर प्रजापतिले उच्च रक्तचापका बारेमा प्रस्तुति दिएका थिए । उनले उच्च रक्तचाप किन हुन्छ ? कसरी हुन्छ ? र यसले मुटुमा पार्ने जोखिम र यसबाट बच्ने उपायका बारेमा प्रस्तुति दिएका थिए ।

त्यसैगरी, वरिष्ठ नर्स सुरक्षा ढुंगानाले खानपानका बारेमा प्रस्तुति दिएकी थिइन् । उनले विशेषगरी हृदयघात अर्थात मुटु रोगका बिरामीले कस्तो खानेकुरा खाने के नखानेबारे प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा फिजियोथेरापिष्ट शैली थापाले मुटु रोगका बिरामीले व्यायाम गर्नुहुन्छ कि हुँदैन ? कसरी गर्ने ? कस्ता व्यायाम गर्नेबारे प्रस्तुति दिएकी थिइन् ।
त्यसैगरी मुटु रोग विशेषज्ञ डा. अमृत बोगटीले हृदयघातको कारण, जोखिम र उपचारका बारेमा लामो प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा हृदयघातबाट पुनर्जिवन पाएका ४ जनाले अनुभवसमेत बताएका थिए । अनुभव बताउनेक्रममा भक्तपुरका डोलबहादुर कार्कीले आफ्ना लागि गंगालालका चिकित्सक भगवान नै बनेर आएको समेत बताए । त्यस्तै, अन्य बिरामीले पनि गंगालाल र त्यहाँका चिकित्सकको प्रशंसा गरेका थिए ।

कार्यक्रमको अन्तिममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक तथा मुटु रोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारीले हृदयघात भएका बिरामीहरुलाई एकैठाउँमा राखेर सबैको अनुभव साटासाटले मनका जिज्ञासा मेटियोस् भन्ने कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए ।

साथै, आगमी दिनमा हृदयघातबाट बचेका सयौँ बिरामीलाई एकैठाउँ राखेर अनुभव साटासाट गर्ने वातावरण बनाउनेसमेत उनले बताए । ‘हाम्रो यो पहिलो प्रयास हो,’ उनले भने, ‘आगामी दिनमा हृदयघातबाट जितेका थुप्रै मानिसहरुलाई भेला गराएर अन्तक्रिया गछौँ ।’

निर्देशक डा. अधिकारीले अहिले केन्द्रमा २४ सै घण्टा प्राइमरी एन्जियोप्लास्टी भइरहेको समेत जानकारी दिए । ‘हामीकहाँ अहिले २४ सै घण्टा प्राइमरी एन्जियोप्लास्टी हुन्छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यदि कुोही बिरामी हृदयघात भएको १२ घण्टाभित्र आइपुग्यो भने बिना भेदभाव उपचार गर्छौँ ।’

त्यस्तै, बागमती सरकारसँगको समन्वयमा १३ वटा जिल्लाका जिल्ला अस्पतालहरुमा रगत पातलो गराउने औषधि निःशुल्क दिने व्यवस्था मिलाएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा ३५ जनाभन्दा बढी हृदयघात जितेका मानिसहरु थिए । साथै, चिकित्सक तथा नर्सहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?