चैते धान प्रोत्साहन कार्यक्रममा अधिक निवेदन

लोकपथ
0
Shares

चितवन । जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ ।

कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि कृषकलाई आह्वान गरेको थियो । जिल्लाका पाँच पालिकाका किसानले चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाएका छन् । चैते धान खेती गर्ने किसानले प्रोत्साहन कार्यक्रमका लागि निवेदन बुझाएका केन्द्रले जनाएको छ । केन्द्रमा छ सय हेक्टर क्षेत्रफललाई मात्रै पुग्ने बजेट भए पनि अहिले किसानको निवेदनका आधारमा चैते धान खेती गर्ने कृषकको सङ्ख्या बढेको केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनले जानकारी दिएका छन् ।

एक हेक्टरमा ३० कट्ठा हुने र एक कट्ठा बराबर  चार सयका दरले प्रोत्साहन रकम दिन कार्यविधिमा भए पनि माग बढेपछि अहिले स्थलगत अनुगमन शुरु गरिएको उनले बताए । उनले भने, “जिल्लामा यो पहिलो कार्यक्रम हो । हामीले अहिले स्थलगत अनुगमन गरिरहेका छौँ ।”

मकवानपुर र चितवनमा यस कार्यक्रमका लागि  ७३ लाख ५० हजार बजेट भए पनि मकवानपुर तथा चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट निवेदन नआएको निमित्त प्रमुख पुनले जानकारी दिएका छन् । उनले भने,“अहिले आएका निवेदन सबैलाई कार्यक्रममा समेट्ने हो भने प्रतिकट्ठा  ६० का दरले पर्न जान्छ ।”

निवेदन सङ्ख्या बढेसँगै किसानलाई वर्गीकरण गरेर प्रोत्साहन रकम दिने तयारी थालिएको पुनको भनाइ छ । साना किसानलाई लक्षित गर्दै रकम बाँडफाँट गर्ने योजनामा कार्यालय रहेको भन्दै उनले निर्णय गर्न बाँकी रहेको बताए । सबैभन्दा धेरै खैरहनी नगरपालिकाबाट निवेदन परेका छन् । राप्ती, रत्ननगर र माडी नगरपालिकाका साथै भरतपुर महानगरपालिकाको पश्चिमी भूभागका कृषक पनि उक्त कार्यक्रममा समेटिएका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?