बलेवा । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ ।
खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । यहाँ यसअघि तामाको उत्खनन हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन शुुरु गरिएको वडाध्यक्ष कृष्ण भुजेलले बताए । तामाको सम्भाव्यताबारे खानी विभाग र अनुमतिप्राप्त कम्पनीलाई जानकारी गराइएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जीनियरको समूहले काम थालेको हो ।
“यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे नरहेको विषयमा खोजी गर्छौँ”, शुभम ग्रुपका निर्देशक अशोक विकले भने, “प्रारम्भिक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।” प्रारम्भिक अध्ययनका लागि झण्डै छ महिना लाग्ने उनले बताए ।
बागलुङकै तित्याङमा तीन वर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राविधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो । तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम शुुरु हुने विकले बताए । ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामाखानीको अध्ययन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया