काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य १० जनासमेत अनुसन्धानकै क्रममा हिरासतमा छन् ।
सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ ।
प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेमा हिरासतमा राखेको छ । प्रहरी स्रोतका अनुसार रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) बस्ने कोठामा राखिएको छ । उनलाई खानासमेत त्यहीँ प्रबन्ध गरिएको छ ।
यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिँदै आइएको छ । उनलाई डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा राखिएको छ ।
यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव पाण्डे भने सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनलाई सो वृत्तका तीन जना इन्सपेक्टर बस्ने कोठामा हिरासतमा राखिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया