राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त

लोकपथ
28
Shares
बनेपा। राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन भएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहेका जिउँदो सहित कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारकोतर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले आज कायस्थको घरमा पुगेर दुःख व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाउदै मुकेश जस्ता योद्धाका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र उनको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गरेका छन् । त्यस्तै बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताएका छन् ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेललाई माग पत्र हस्तान्तरण गरेका छन् ।  विसं २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनि १४ वर्षको थिए। सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनि १७ वर्ष एक महिना अचेत अवस्थामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?