खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवर्द्धन कार्यक्रम ल्याएको छ ।
लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुयाउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवरेद्धन कार्यक्रम ल्याएको हो ।
गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख विमला राईले जानकारी दिएका छन् ।
। आर्थिक वर्ष २०७९\०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले व्यावसायिक रुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन गत वैशाख–१९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ ।
गहतको बीउ भएका किसानले स्वतः गहत उत्पादन गर्नसक्ने र बीउ नभएका किसानलाई आवश्यक बीउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने नगर प्रमुख राईले जानकारी दिएका छन् ।
त्रिधार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवं पर्यटकले कोसेलीका रुपमा लैजान पाउने गरी गहत खेती प्रवर्द्धनको कार्यक्रम ल्याइएको नगर प्रमुख राईले बताए । “रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ । अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्व बुझाउन सकिएको छैन । गाउँघरमा चामलसँग गहत साट्ने चलन छ”, उनले भने, “अब इच्छुक किसानलाई गहतको बीउ उपलव्ध गराउँछौँ । उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने योजना बनाएका छौँ । गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ ।”
नगरपालिकामा उत्पादित गहत सङ्कलनका लागि विक्रेता सूचिकृत गर्ने नगरपालिकाको योजना छ । गत असारमा सम्पन्न ११ औँ नगरसभाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सम्वन्धी नीति तथा कार्यक्रम पास गरेको थियो ।
नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत जिल्लाबाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ । बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटारलगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन् । हालसम्म गाउँघरमा गहत दालको रुपमा मात्र उपयोग हुने गरेको छ ।
नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बीउका लागि आवेदन दिन आह्वान गरेको छ । एघार वडा रहेको उक्त नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया