बखतबहादुरको योगदान चलचित्रकलादेखि बौद्ध दर्शन प्रवर्द्धनसम्म

लोकपथ
35
Shares
श्याम रिमाल-
काठमाडौं । चलचित्र निर्माणमा फोटोग्राफी र क्यामराको कामको निरीक्षण वा निर्देशन तथा क्यामरा सञ्चालनसम्बन्धी अध्ययन गरेका नेपालको पहिलो सिनेमेटोग्राफर ।
(नेपालमा दश जोड दुई शिक्षा प्रणाली आरम्भकर्ता
(चलचित्र संस्थानका जन्मदाता
(थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष
(चित्रकार(पुँ) समाजका संस्थापक अध्यक्ष
(नेपालमा व्यवस्थित ढङ्गबाट बुद्धजयन्ती मनाउने कामको थालनी
(विजयादशमीका दिन ‘शस्त्रास्त्र परित्याग दिवस’ को सुरुआतकर्ता
( इन्द्राणयी मन्दिर, काठमाडौंमा ‘अशोक स्मृति चैत्य’ स्थापनाकर्ता
(थेरवादी बुद्ध विहार, लुम्बिनीमा पाली, नेपाली र अङ्ग्रेजीमा ‘धम्मपद’ उत्कीर्णकर्ता
(मन्दिरहरूमा पशुबलिविरुद्ध मुद्दा दिने समाजसेवी
राणाकालका नामुद चित्रकार तथा फोटोग्राफर कृष्णबहादुर चित्रकारका ज्येष्ठ सुपुत्र बखतबहादुर चित्रकारका धेरै परिचय छन् । विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका सुपुत्रसुपुत्रीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ ९२०७९० नै प्रकाशन गरिदिएका छन् । राष्ट्रिय समाचार समितिका आलेख समाचार प्रमुखको लेखनमा आएको प्रस्तुत कृतिमा लेखकले बखतबहादुरसँग कुराकानी गरी लेखेको आलेख, उनका केही लेख  र  अन्तर्वार्ता, उनबारे विभिन्न व्यक्तित्वले लेखेका लेख तथा तस्बिरहरू समावेश गरिएको छ ।
देवीदेवताका चित्र कोर्ने–रङरोगन गर्ने परिवारमा जन्मिएका उनले राणाशासन, पञ्चायतकाल र बहुदलीय गणतान्त्रिक सबै व्यवस्था भोगेका छन् भने राजनीति, अध्यात्म, शिक्षा, सञ्चार, चलचित्र, फोटोग्राफी, सिनेमेटोग्राफी जस्ता एकापसमा सम्बद्ध–असम्बद्ध विषयमा संलग्न भई योगदान दिएका छन् । यस स्मृति ग्रन्थले बखतबहादुरका तिनै अनगन्ती व्यक्तित्व र योगदानका साथै ती कालका लुकेकाका केही पक्षबारे पनि प्रकाश पार्छ ।
कामपा, हनुमानढोका नजिक यट्खा टोलमा ९२ वर्षअघि जन्मिएका उनका पिता कृष्णबहादुर कमान्डर इन चिफ बबरशम्शेर जबरा (अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरका भाइ)को थापाथलीस्थित कार्यालयमा निजी चित्रकार थिए । “यिन (बबर)को नेतृत्वमा नेपाली सेनालाई द्वितीय विश्वयृुद्धमा पठाइएको थियो । अङ्ग्रेजले भारत छोडेर जाने बेला मोहनशम्शेर राणालाई अङ्ग्रेजले आफ्नो भूभाग फिर्ता लिन पत्र लेखेका थिए । तर बबरशम्शेरले राणा शासन नै धर्मरिएको अवस्थामा त्यसो गर्न नहुने भन्दै उनका दाजु मोहनशमशेरलाई रोकेका थिए ।” यो नेपाली जनमानसमा कमै चर्चामा आएको तथ्य हो ।
भारतमा महात्मा गान्धीको हत्या हुँदा काठमाडौंमा अङ्ग्रेजविरुद्ध ठूलो जुलुस निक्लेको र उनको तस्बिर पशुपति आर्यघाटमा विसर्जन गरी श्रद्धाञ्जलि दिइएको तथा १३ औँ दिनको पुण्यतिथिमा हनुमानढोका परिसरमा श्रद्धाञ्जलिसभा गरिएको, शिवपुरी नजिकको जङ्गलमा वनभोज गर्ने बहानामा राजा त्रिभुवन सपरिवार दिल्लीमा शरण लिन गएको जस्ता राजनीतिक घटनाका जानकारी पनि यसमा पाइन्छन् । रमाइलो कुरा, बखतबहादुर बाल्यकालमै विद्यालय जीवनदेखि नै गाँधीवादी थिए जुन राणा विरोधी भावनाको प्रतीक पनि थियो ।
प्रथम आमनिर्वाचन (विसं २०१५)पछि राजा महेन्द्र र प्रधानमन्त्री बिपी कोइरालाको व्यक्तित्व टकराएकाबारे राजनीतिज्ञ विश्वबन्धु थापा राम्रैसँग अवगत  थिए र एक पटक उनले भनेका पनि रहेछ, “एउटै वनमा दुईटा बाघ नअटाउनु जस्तै हो ।” यहाँनेर बखतबहादुरको धारणा भने ‘राजामा रहेको घमण्ड र बिपीको एकखालको ‘म’वादी स्वभावले पनि विश्वासको सङ्कट ल्याएको थियो । राजा महेन्द्रको राष्ट्रवादी सोच र प्रधानमन्त्री बिपीको विकासवादी सोचलाई एक ठाउँमा सम्मिश्रण गर्न सकेको भए मुलुकले धेरै पहिले नै समृद्धिको यात्रा तय गरिसक्ने’ थियो । यस्तै धारणा अहिले पनि केही राजनीतिकर्मी, राजनीतिक विश्लेषक, बुद्धिजीवी, पत्रकार आदिले व्यक्त गरेको पाइन्छ ।
इसाई धर्मको पवित्र पुस्तक ‘बाइबल’ लाई अङ्ग्रेजीबाट नेपाली भाषामा पहिलो पटक अनुवाद गर्ने श्रेय पाउनुभएका बखतबहादुरले अमेरिकाको एक चर्चका पादरी ब्राउनले उनकोे धर्ममा परिवर्तन गर्न निकै करबल गर्दा पनि क्रिस्चियन बन्न इन्कार गरेको र सम्भवतः त्यही चिन्ताले बिरामी परेका पादरीका लागि मात्र आफू क्रिश्चियन बनेको र नेपालको कुन चर्चमा कसलाई भेट्नुपर्ने  भनी पत्र पठाएको कुराले मानिस आफ्नो धर्ममा कत्तिसम्म कट्टर हुँदा रहेछन् (यहाँ ब्राउन र बखतबहादुर दुवै)भन्ने ज्ञात हुन्छ ।
नेपाल सरकारको ३५ वर्ष लामो निजामती  सेवा गरी सहसचिवबाट अवकाशप्राप्त उनका ‘फोटोग्राफी’ (२०४३)र ‘नयाँ नेपालको समावेशी धर्म’।२०६४० पुस्तकका साथै ‘शिक्षक’ र ‘गाउँ विकासमा प्रौढ शिक्षा’ शीर्षकका वृत्तचित्र  पनि प्रकाशन भएका छन् । विदेशमा अध्ययन र भ्रमणका क्रममा नेपाल र नेपालीबारे वृत्तचित्र आदिका माध्यमबाट विश्वमा चिनाउन उनले दिएका योगदान अविष्मरणीय छ । नेपालका मन्दिरहरूमा हुने पशुबलिविरुद्ध सर्वोच्च अदालतमा उनले दिएका मुद्दाको फैसला भने दर्जनौँ पटक पेसी चढ्दा पनि हुन नसकेको कृतिमा उल्लेख छ ।
एघार अध्यायमा विभाजित प्रस्तुत ग्रन्थमा ३० भन्दा बढी विभिन्न राजनीतिक(आध्यात्मिक(प्रशासक(शिक्षासेवी(कलाकारआदि व्यक्तित्व (केशरबहादुर विष्ट, पूर्णबहादुर खड्का, सागरप्रताप राणा, धम्मावती गुरुमा, प्रा डा भीमदेव भट्ट, सानुराजा शाक्य, डा सुरेशराज शर्मा, डा  राजेन्द्र सुवाल आदि) तथा परिवारका सदस्य र केही नातेदारका केही संस्मरणात्मक लेखरचना पनि समाविष्ट छन् । जसले उनको व्यक्तित्वमा अझै प्रकाश  पार्छन् । उनले लेखेका केही लेख र उनसँग पत्रकारले लिएको अन्तर्वार्ताले कृतिलाई आधिकारिता दिन बल दिएको छ । बखतबहादुरको आफ्नो जीवनसँग सम्बन्धित र परिवारका सदस्य,  उनि संलग्न ऐतिहासिक(राजनीतिक(धार्मिक क्षेत्र,सिनेमेटोग्राफी(फोटोग्राफी आदिसम्बन्धमा प्राप्त सम्मानपत्र झल्कने  श्यामश्वेत र रङ्गीन चित्रले कृतिमा अझ सौन्दर्य थपेका छन् ।
कृतिमा केही तथ्यगत त्रुटि पनि भेटिन्छन्, जस्तैस पुरातत्त्वविद् फेडरेर (हुनुपर्ने फुहरर), वीरगन्जमा मुक्ति सेनाको नेतृत्व गर्ने  धीरबम मल्ल (हुनुपर्ने थीरबम मल्ल), सन् १९६४ (विसं २०२१तिर) मा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला ( हुनुपर्ने विसं २००८ र )११ तिर )आदि ।  पुस्तकमा केही अलि बढी लेखकीय भावनाका कुरा पनि आएका छन् । जुन क्षेत्र र स्थानमा रहेर पनि सदैव मुलुककै लागि योगदान दिएका बखतबहादुरको यो स्मृतिग्रन्थ पत्रकार, धर्म, शिक्षा, इतिहास, राजनीति आदि क्षेत्रका सबैलाई उपयोगी र सङ्ग्रहणीय नै हुने विश्वास लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?