मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन

लोकपथ
0
Shares

गलकोट । गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताए।

त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने घोषणा समेत गरेका छन् । उक्त गुम्बाको सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा सङ्कलित  ८० लाख रकमबाट निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए । उक्त कार्यक्रममा भिक्षु महासङ्घका केन्द्रिय सदस्य भान्ते निराङ्करले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गरेका थिए। गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?