पर्वत । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौँ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन ।
पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गार्ई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गरेका छन् । २०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन शुुरु गरेका उनको फर्ममा यतिबेला २२ उन्नत जातका गाईहरु छन् । अहिले दैनिक बिहान–बेलुकी गरेर एक सय ८० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको उनले बताए ।
विज्ञान विषयमा स्नातक गरेका उनले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन शुुरु गर्नुको विगत भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार–व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका किसान तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उनले पोखरामा रहेको कपडा पसल र घडेरीसमेत बिक्री गरेर गाउँ फर्किएका हुन् । उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो ।
गाउँमै केही गर्छु भन्ने उद्देश्यका साथ उनले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँकै सडकमा गुडाउने लगायतका काम गरे पनि सफल हुन नसकेपछि उनि गाउँकै बोर्डिङ स्कुलमा शिक्षकसमेत बनेका छन् । सोही क्रममा घरमा दुईवटा गाई पालेर दूधसमेत राम्रो आम्दानीको साथमा बेच्न थालेका छन् । तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कुलमा पढाउने र बिहान–बेलुका गाईको स्याहारसुसार गर्न थालेका छन् । उनि आफैँ दूधका क्यान बोकेर पातिचौरमा रहेको डेरीसम्म पुग्न पुुग्छन् । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका विद्यार्थी र सहकर्मी शिक्षकहरुसमेत अचम्म मान्थे ।
लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन सङ्घर्ष गर्नु परेको उनले बताए । नेपाल सरकारको प्याक्ट कार्यक्रमअन्तर्गत १० लाख बराबरको अनुदान प्राप्त भएपछि व्यवसायमा थप हौसला मिलेको उनले बताए ।
तिमिल्सिनाको फर्ममा अहिले ६ जनाले रोजगारीसमेत पाएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार–व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी वृद्ध आमाको ओठमा यतिबेला गाईपालनले नै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती, छोरालगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फर्मलाई सफल व्यवसायमा परिणत गर्न सफल भएका छन् ।
उनको फर्ममा अहिले १६ गाईले दैनिक एक सय ८० लिटरभन्दा बढी दूध दिन्छन् भने चारवटा ब्याउने छन् भने अन्य कोरली गाइरहेका छन् । दूध बिक्रीबाटै खर्च कटाएर मासिक दुई लाख बचत गर्ने गरेको तिमिल्सिनाले बताए । “अहिले दैनिक एक सय ८० लिटर दूध बेचिरहेको छु”, तिमिल्सिनाले भने, “मासिक रुपमा खर्च कटाएर दुई लाखभन्दा बढीसम्म आम्दानी हुने गरेको छ ।” यहाँ दूध डेरीमा प्रतिलिटर ८० मा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर एक सयमा बिक्री हुने गर्दछ । तिमिल्सिनाले दूधसँगै घीउ, दही, कुराउनी मात्र नभएर मलसमेत बिक्री गर्दै आएका छन् । उनको फर्मबाट अग्र्यानिक खेतीका लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उनले वार्षिक झन्डै २० देखि २५ ट्र्याक्टर मल बिक्री गर्ने गरेको बताए ।
व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फर्मका सञ्चालक राजेन्द्रबहादुर खड्काले भने, “गाई फर्मबाट अग्र्यानिक तरकारी खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।” तिमिल्सिनाको फर्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीका लागि मल लैजाने गरेका छन् । अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचारसमेत तिमिल्सिनाले आफैँ गर्ने गरेको बताए ।
केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिन थालेका छन् । उनले गाईलाई खुवाउनका लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाएका छन् । घाँसको बिक्रीबाट पनि उनि वार्षिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनले आफ्नो फर्ममा प्रविधिको पनि प्रयोग गर्न जोड दिइराखेका छन् । उनि आवश्यकताअनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्दै आएका छन् । प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ । “पहिले दूध पिठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फर्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध भण्डारण गरेर राख्न सक्ने क्षमता पनि छ । पहिलेजस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ”, उनले भने ।
पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । “घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानुभन्दा आफ्नै माटोमा परिवारका साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया