काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने र रास्वपाका सांसद गणेश पराजुलीबीच सवालजवाफ भएको छ ।
कांग्रेसकी सांसद न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही विदुषी मान्यले बुझ्दै नबुझी बोलेको टिप्पणी गरेकी थिइन् ।
‘जबरजस्ती अडियोको माध्यमबाट जसले जसलाई जे भने पनि हुने । त्यसलाई जे भने पनि सत्य मान्नु पर्ने । बुझेर या नबुझेर हो मा हो मिलाउने मान्यज्यूलाई उहाँकै विषयमा थर्ड पर्सनले आपत्ति जनक अडियो निकाले स्वीकारे उहाँ मान्नुहुन्छ ? म मान्दछु भ्रष्टाचारको कुनै जात, धर्म लिंगमा परिभाषित हुँदैन । भ्रष्टाचार त भ्रष्टाचार नै हो । भ्रष्टाचार गरेकोलाई कडा भन्दा कडा कारबाही गर्नुपर्दछ । हुँदै नभएको पम्फादेवीको नाम लिएर महिलाले भ्रष्टाचार गरे भन्ने सदनमा रटान के तथ्यपरक र सही छ । यो देशको शासन सत्ता कसको हातमा छ । देवीको की देवको ? सबै बिग्रियो भन्छौँ कसले बिगार्यो ? देवीले की देवले । हामी बोल्दा केही त संयमित बनौँ । नयाँ पुस्ताका विदुषी मान्य ज्यूहरु गलतलाई गलत र सहीलाई सही भनौँ ।आफूले बोलेको बोलीको बाँण आफूलाई नै लाग्ला ? यो त विचार गरौँ ।’ उनले भनेकी थिइन् ।
उनले नयाँ विदुषी मान्य भनेर रास्वपाकी सांसद डा. तोसिमा कार्कीलाई इंगित गरेकी थिइन् । कार्कीले सोमबारको बैठकमा बोल्दै भ्रष्टाचारको कुनै लिंग वा जात नहुने भन्दै संसदमा आवाज उठाएकी थिइन् । सांसद कार्कीको व्यंग्यबाण फेरि कांग्रेसकी सांसद डा. आरजु राणाप्रति रहेको थियो । राणाले सोही बैठकमा बोल्दै महिलामाथि भ्रष्टाचारको आरोप लगाउने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडिएको भन्दै महिला अघि बढ्न खोज्दा विभिन्न आरोपहरु लगाउने प्रवृत्ति बढेको भन्दै आक्रोश डा. राणाको थियो ।
आजको बैठकमा कांग्रेस सांसद न्यौपानले आरजुको घुमाउरो बचाउ गरेकी थिइन् । तर रास्वपाका सांसद पराजुलीले न्यौपालेले विदुषी अर्थात् विद्धानको अर्थलाई अर्कै बुझिदिए । सांसद न्यौपानेले कुरा टुंग्याएर रोस्टमबाट तल आउँदा उनले आपत्ति जनाए, सभामुखले उनलाई आफ्नो धारणा राख्नका लागि एक मिनेटको समय दिए । सो समयमा उनले माननीयले सदनमा बोल्ने भाषा शिष्ट हुनुपर्ने भन्दै संसदको ध्यानाकर्षण गराए ।
‘भर्खरै बोल्ने वक्ता माननीय ज्यूले नयाँ पुस्ताका विदेशी सांसद भनेर बोलेको शब्दावली कसलाई गर्न खोजिएको हो ? र कसलाई ईंगित गर्न खोजिएको हो ? के हाम्रो संविधानले विदेशीलाई पनि सांसद बनाएर यो सदनमा ल्याएको छ ? कसलाई ईंगित गर्न खोजिएको छ ? यो भाषा आफैँमा सभ्य नभएको हुँदा रेकर्डबाट हटाइयोस् ।’ उनले भने ।
उनले यती बोल्दा रास्वपाका सांसदहरु दंग परेर टेबल ठोकिरहेका थिए ।
पुनः यता कांग्रेस सांसद न्यौपानेले सो कुरामा आपत्ति जनाउँदै आफ्नो कुरालाई स्पष्ट पारिन् ।
‘मेरो लिखित यहाँ पनि छ मैले विदुषी माननीय भनेर लेखेको छु । विदुषी भनेको छ विद्धान मान्यजी होइन ? मेरो लिखित छ ।’ उनले भनिन् ।
अहिले बैठक बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया