नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी संसद बैठकमा बोलिरहेका भन्दै सांसद गैह्रेले जनाए आपत्ती

लोकपथ
203
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आरोपी पनि संसद बैठकमा बोलिरहेको भन्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैह्रेले आपत्ती जनाएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैह्रेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम राष्ट्रघाती र देशद्रोही भएको बताए ।

‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भष्टाचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो । देशद्रोही काम हो । त्यसकारण यस्तो काममा संलग्न मान्छेहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ ।’ उनले भने ।

‘यतिमात्र हैन कि हामीले विभिन्न समाचारहरूमा सुनिरहेका छौँ केही व्यक्तिहरू पक्राउ परेका छन् । केही व्यक्ति र सांसदलाई वारेन्ट गरिएको छ, उहाँ भागिराख्नुभएको छ केही सांसदहरू जो नोटिसमा हुनुहुन्छ, उहाँ सदनमै हुनुहुन्छ, सदनमा बोलिराख्नुभएको छ यो के भएको हो ? म यो सदनमार्फत, सभामुख मार्फत, सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ, छानबिन के भइरहेको छ, यसमा संलग्न को हुन्, यो सरकारले के गरिरहेको छ ?’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?