चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

लोकपथ
42
Shares

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याएको छ ।

आर्थिक वर्ष २०७८७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइएको हो । सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिएका छन, ।

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइएको हो । जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए ।

जिल्लामा कार्यान्वयनमा रहेका महत्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्यसम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन, ।

उनका अनुसार तीन करोड ८१ लाखको लागतमा भीमाद–१ र घिरिड–२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, एक करोड ८९ लाखमा शुक्लागण्डकी–९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, एक करोड १८ लाखमा भीमाद–५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ ।

त्यसैगरी एक करोड २९ लाखमा शुक्लागण्डकी–१० स्थित लोकदीटार सिँचाइ योजना, एक करोड २१ लाखको लागतमा देवघाट–१ स्थित बेसारघारी सिँचाइ योजना र ७९ लाख ४८ हजारको लागतमा भीमाद–७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?