अन्ततः रास्वपाले गर्यो सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता लिने

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि नहुने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसुन्धारास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटि र संसदीय दलको बैठकले सो निर्णय गरेको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकाेटीले लोकपथलाई जानकारी दिए ।

‘हामीले पार्टीको केन्द्रीय कमिटि र संसदीय दलको बैठकमा सरकारमा जाने नजानेबारे छलफल गर्यौँ र शुभेच्छुकहरुसँग पनि राय लियौँ,’ उनले भने, ‘सबैको सल्लाहबाट तत्काल सरकारमा नजाने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गर्यौँ ।’

रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहालले जोडबल गरेपनि रास्वपाले भने सरकारमा सहभागि नहुने टुंगो लगाएको हो ।

यसअघि रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएसँगै उनको उपप्रधानमन्त्रीसहितको गृहमन्त्री पद खुस्किएको थियो ।

त्यससँगै रास्वपाको कोटामा परेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्रीले राजीनामा दिएका थिए । यद्यपि, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?