काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी गायब भएका छन् ।
बुधबार सो प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदा सभामुख देवराज घिमिरे सरिक रहेको अर्घाखाँचीको एक कार्यक्रममा रहेका थिए उनी । त्यसपछि उनी भैरहवा लगायतका ठाउँमा रहेको प्रहरीले बताएको थियो । तर अहिलेसम्म उनी पक्राउ परेका भने छैनन् । सोही प्रकरणमा मुछिएका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार नै पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको थियो । सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमतिपछि उनीमाथि अनुसन्धान भइरहेको छ ।
यता टोपबहादुर भने प्रहरीलाई आफैँ गिरफ्तारी दिने भनेर एकाएक गायब भएका हुन् । सो विषयमा लोकपथसँग कुरा गर्दै प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले अनुसन्धान र खोजी भइरहेको रहेको बताए ।
‘पक्राउ पूर्जी जारी भएपछि उहाँ गायब हुनुहुन्छ । हामी खोजिरहेका छौँ ।’ कडायतले लोकपथसँग भने ।
त्यसो त पक्राउ पुर्जी जारी भएपछि उनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई समेत सम्पर्क गरेका थिए ।
प्रहरी प्रमुखलाई नै सम्पर्क गरेका व्यक्ति एकाएक गायब हुँदा प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठ्यो नि ? त्यसो त पक्राउ पुर्जी जारी रहँदा सार्वजनिक कार्यक्रममा रहेका व्यक्तिलाई प्रहरीले नै पक्राउ गर्न चुकेको हो ? भन्ने लोकपथको प्रश्नमा उनले, ‘को सँग सम्पर्क भयो भन्ने विषयमा मलाई जानकारी छैन । त्यही पनि केन्द्रबाट भएको पक्राउ पुर्जीको विषय सम्बन्धित ठाउँको प्रहरीलाई थाहा नभएको पनि हुनसक्छ ।’
पूर्व मन्त्री समेत भइसकेका आफ्ना पार्टीका नेतामाथि पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि दबाब दिन थालेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटघाट गरेका थिए । भेटघाटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले बहालवाला सांसदलाई पक्राउ गर्न खोज्नु रहस्यमयी विषय भएको प्रतिक्रिया दिए ।
‘बहालवाला सांसद, मन्त्री उपप्रधानमन्त्री भइसकेको व्यक्ति व्यक्ति भागेर कहीँ जाने त होइन, त्यसरी पक्राउ गर्न खोज्नु रहस्यमयी कुरा हो ।’ ओलीको प्रतिक्रिया थियो ।
त्यस्तै ओलीले दोषी उम्किन नहुने भन्दै निदोर्षलाई फसाउन खोजे सहेर नबस्ने चेतावनी समेत दिएका थिए ।
सोही प्रकरणमा एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा समेत मुछिएका छन् । उनले आफूले कानुनलाई सघाउने भन्दै विज्ञप्ति जारी गरे पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । भने बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । त्यसो त उक्त प्रकरणमा भिआईजीको ठूलो सञ्जाल नै रहेको आशंका गरिएको छ । सोही प्रकरणमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया