घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

लोकपथ
0
Shares

नवलपुर । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो । दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ ।

पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्वद्र्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो । स्थानीय सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए ।

पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको एफएमले विषयवस्तु र मुद्दालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण गर्न लागेको कडिरयाले बताए । “सन् १९७० देखि नै दुर्लभ मानिएको सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको हो”, उनले भने । देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा घडियाल काव्य उत्सवलाई विभिन्न विभिन्न नौ चरणमा विभाजन गरिएको छ ।

त्यहाँ घडियाल गोही, नारायणी नदी, चरा पर्यटन, संरक्षण शिक्षा, निकुञ्जको आवश्यकता र बाध्यता, प्रकृति र साहित्यको समिश्रण, देवचुली डाँडाको गौरवका बारेमा छलफल गर्दै काव्य वाचन गरिने छ । जिल्लाको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य रहेको छ ।

उत्सवमा ‘सङ्कटमा घडियाल’ ‘लोभदेखि लोपसम्म’ ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’, ‘प्रकृतिसँग साहित्य’ र ‘शिरको गाथा तीरको व्यथा’ शीर्षकमा बहस तथा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?