काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले आफूमाथि लागेको आरोपमा अनुसन्धान प्रक्रियालाई सघाउने बताएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रकरणमा उनी मुछिएर अदालतले पक्राउ पुर्जी जारी गरेपछि सो अनुसन्धानलाई सघाउने बताएका हुन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै उनले आफूमाथि लागेको आरोप झुटो रहेको दाबी गरे ।
‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले भने ।
राजनीतिक प्रतिशोध साध्नका लागि सो आरोप लगाएको दाबी गर्दै उनले आफ्ना बुबा गृहमन्त्रीको जिम्मेवारीमा रहेका बेला जनताको न्यायको पक्षमा काम गरेको बताए ।
‘म विरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ ।’ उनले भने, ‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ । जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन ।’
सो प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया