ज्ञानेन्द्रको सम्बोधन : ‘राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति दलद्वारा दलका निम्ति भयो’ (पूर्णपाठ)

लोकपथ
49
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राज्य व्यवस्था जनताका निम्ति हुनुपर्नेमा नेताद्वारा नेताका निम्ति भइरहेको टिप्पणी गरेका छन् ।

बुधबार नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा व्यवस्था फेरिए पनि जनताको अवस्थामा नफेरिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

देशमा प्रजातन्त्र स्थापना भए पनि त्यसले आम नागरिकको जीवन उकास्न नसकेको बताउँदै उनले भनेका छन्, ‘लामो अन्तरालपछि फेरीपनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै – परिस्थितिमा छ । देश बनाउं देशवासीको अवस्था सुधारौं व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ हाम्रो – भावना धारणा र नारा आज पनि यही छ । नीतिहरू मध्येको सर्वश्रेष्ठ नीति राजनीति हो। तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिदैन । हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो तर बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्वारा नेताका निम्ति दलद्वारा दलका – – निम्ति भइरहेको छ ।’

त्यस्तै ४० को दशकमा नेपालमा पूर्वाधार विकास र उद्योग कलकारखाना र औधोगिक क्षेत्रको विकास भएको बताउँदै तीनको संरक्षण गर्ने भन्दा पनि त्यसलाई भत्काउने काम भइरहेको टिप्पणी गरे ।

‘विक्रम सम्बतको दुई हजार दशको दशक देखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधि प्रकृयाका कामहरू भए । महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन, भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि हुन । सबैसंग मित्रता, सबैसंग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिका र शान्ति क्षेत्रको घोषणा सम्म पनि यसै अवधिमा भएको हो । तर यता आएर ती पुर्वाधार ती औद्योगिक आधार – ती सबै खाले चेतना लहरले निश्चित आकार लिन सकेको छैन । भए गरेका संरचना भत्काउँदै जाने, रुपान्तरणका नाममा विकार खडा गर्ने र परनिर्भतातिर बेतोडले दौडने काम नै अहिले चलिरहेछ । त्यसैले चौसठ्ठी वर्ष पुर्वको चेतनाको त्यो झिल्को कता कता अहिलेको खाँचो भै झल्किरहेको छ ।’ सम्बोधनमा उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?