आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी : अध्यक्ष यादव

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व जरुरी रहेको बताएका छन्।

सिंहदरबारमा आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले सरकारको स्थिरता लोकतन्त्रको विकासका लागि पनि महत्वपूर्ण हुने उल्लेख गरेका छन् । “नेपालको आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थायित्व आवश्यक छ”, उनले भने, “अस्थिरताले कसैलाई हित गर्दैन, त्यसैले सरकारको कार्यकाल पूरा हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।”

फरक प्रसङ्गमा अध्यक्ष यादवले सरकारमा बाँकी रहेका मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीबाट कस्को नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे छिट्टै निर्णय गरिने पनि जानकारी दिएका छन् । “अहिलेको अवस्थामा वृहत राष्ट्रिय समझदारीको आधारमा सरकारको स्थायित्व र आर्थिक विकासतर्फ मुलुकलाई अघि बढाउनुपर्छ । मुलुकमा राजनीतिक अस्थिरता रहिरह्यो, सरकार चाँडो– दुई महिना–छ महिनामा फेरिनुबद्लिरह्यो भने देशको विकास र प्रणाली माथि पनि असर पर्छ, त्यसले जनतालाई फाइदा पुग्दैन”, अध्यक्ष यादवले भने।

संसदीय प्रक्रियामा संसदीय समितिको महत्वपूर्ण भूमिका रहने भएकाले समितिमा पार्टीको तर्फबाट सक्रिय भूमिका रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?