पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प शुरु

लोकपथ
0
Shares

गण्डकी । पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प शुरु भएको छ । पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् ।

ती मध्ये ५२ जना अन्य मार्सल आर्ट खेलसँग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । उनीसहित ज्ञानेन्द्र सिंह, अनिश बुढामगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निःशुल्क रूपमा सहभागीहरूलाई प्रशिक्षण दिने छन् । प्रशिक्षक क्षेत्रीले निःशुल्क टिसर्ट, पानीको बोतल, झोला र किट्स सहभागीलाई निःशुल्क प्रदान गरेको छ ।

क्याम्पलाई नेपाल मुआथाई सङ्घ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुआथाई सङ्घको सहयोग एवम् समन्वय रहेको छ । थाइल्याण्डबाट शुरु भएको यो खेल हाल विश्वभर फौलिएको छ । तेह्रौैँ शताब्दीमा युद्धकला सिक्न शुरु भएको मुआथाईलाई १८औँ शताब्दीमा तत्कालीन राजाहरूले खेलको रूपमा विकास गरेका थिए । विश्वकै पहिलो प्राथमिकताको मार्शल आर्ट खेलको रूपमा विकास भएको र यसबाट थाइल्याण्डको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका सयौंँ मार्शल आर्ट खेलाडी यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् ।

नेपालमा पछिल्ला समयमा विस्तारै यो खेलको विकास हुँदै आएको छ । उक्त क्याम्प शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यसबाट विद्यार्थीभित्रको अन्तर्निहित खेल क्षमता उजागर गर्न सहयोग पुग्ने बताएका छन् । आत्मरक्षा र खेल विकासका लागि समेत क्याम्प उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले निःशुल्क रूपमा आयोजित यस प्रशिक्षणलाई अन्य खेलकुद सम्वद्ध संस्थाले समेत आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् ।

खेलकुदका प्रदेश निर्देशक कृष्ण तिमिल्सिना, सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङ लगायतले खेलको महत्वबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?