सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं २ का वडाध्यक्ष दौलत कार्कीले पालिका अध्यक्ष र उपाध्यक्षले सवारी खरिद लगायतको विषयमा अनियमितता गरेको आरोप लगाएका छन् ।
सार्वजनिक लेखा समितिको संयोजक समेत रहेका वडाध्यक्ष कार्कीले गाउँपालिका प्रमुख शंकरराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेमाथि सो आरोप लगाएका हुन् ।
कार्कीले विज्ञप्ति नै जारी गरेर सवारी खरिद, दैनिक भ्रमण भत्ता, सवारी साधनमा क्षमता भन्दा बढी इन्धन खर्चको बिल पेश गरेको लगायतका आरोप लगाए ।
गाउँपालिका प्रमुख र उपप्रमुखले मनोमानी रुपमा गाउँपालिकाको स्रोत र साधनको दुरुपयोग गरी आर्थिक आर्थिक अनियमिता गरेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
गाउँपालिका प्रमुख र उपप्रमुखको लागि भन्दै खरिद गरिएका दुइ वटा नयाँ फोटोन टुनल्याण्ड गाडीको सम्पूर्ण डेकोरेशन खर्च बिक्रेता कम्पनीले गरिदिए पनि डेकोरेशन शिर्षकमा गाउँपालिकामा फर्जी बिल पेश गरेको र भुक्तानीको लागि कर्मचारीलाई अनावश्यक दवाव दिएको आरोप रहेको छ ।
त्यस्तै नयाँ गाडीको इन्धन क्षमता ७६ लिटर रहेकोमा अध्यक्ष र उपाध्यक्षले इन्धनको नाममा दैनिक ८० लिटर इन्धनको बिल पेश गर्ने गरेको उनको आरोप छ । यता उपप्रमुख सवार गाडी काभ्रेमा सामान्य दुर्घटनामा परेको र सम्बन्धित मोटरसाइकल धनीले नै खर्च ब्यहोरेकोमा गाडी क्षती भएको भन्दै लाखौँ रकम गाउँपालिकाबाटै दाबी गरिएको उनले उल्लेख गरेका छन् । यता बिमा कम्पनीमा दाबी गर्न मिल्ने भए पनि नगरिकन रकम दाबी गरिएको आरोप लगाए । यता गाउँपालिका अध्यक्ष शंकरराज बरालले भने उक्त गाडी खरिद गरेको पैसा समेत तिरिनसकेको लोकपथलाई जानकारी दिए । साथै उपाध्यक्ष सवार गाडी दुर्घटनामा परेको र त्यसको इन्स्योरेन्स नगरिएको भन्दै मर्मत खर्च बापत रकम भुक्तानी भएको हुनसक्ने बताए ।

‘खरिद गरिएको गाडीको पैसा समेत भुक्तानी गरिसकेको छैन ।’ उनले लोकपथसँग भने, ‘गाडीको बिमा नगरेको अवस्थामा मर्मत बापतको खर्च गाउँपालिकाबाट लिएको हुनसक्छ ।’
आफू र उपाध्यक्षमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आफू बाहिर रहेको कार्यालयमा गएर ती सबै विषयमा बुझ्ने बताए । साथै राजनीतिक प्रतिशोधका आधारमा आफूहरुमाथि आरोप लगाइएको बताए ।
यता वडाध्यक्ष कार्कीले भने गाउँपालिका अध्यक्षले एक महिनामा पालिका कोषबाट ६० हजार र उपाध्यक्षले ४५ हजार भन्दा बढी दैनिक भ्रमण भत्ता लिने गरेको र त्यसको भुक्तानीका लागि कर्मचारीहरुलाई दवाव दिने गरेको आरोप लगाएका छन् ।
त्यस्तै गाउँपालिकाको ५०४२ नं को टाटा योड्डा गाडीको सिट सामान्य मर्मत खर्च १ लाख ९७ हजारको बिल पेश गरि भुक्तानी लिएको आरोप रहेको छ ।
त्यस्तै वडाध्यक्ष कार्कीले माथि उल्लेखित विषयको सत्यतथ्य छानबिन नभएसम्म भुक्तानी नदिनका लागि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया