अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

लोकपथ
14
Shares

काठमाडौं । आज एक सय ३४ औँ अन्तर्राष्ट्रिय मजदुर  दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम राष्ट्रको अभियान’ तय गरेको छ ।

दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका मजदुरलाई शुभकामना व्यक्त गरेको छ । उनले शुभकामना दिँदै भनेको छ “कामका खोजीमा विदेशिएका नेपाली श्रमिकको रोजगार थप, सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाइनेछ । स्वदेश तथा विदेशमा श्रम गर्ने मजदुरको हक, अधिकार, सुविधा, र असल सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि गरेको छ ।”

यसैबीच श्रमिक संघ संगठनले श्रम हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपाल टेड युनियन महासङ्घ जिफन्टले भने ‘हाम्रा अधिकार खोसिँदैछन्, सङ्गठित हौं, प्रशिक्षित हौँ र परिचालित हौँ’, नारा तय गरेको छ । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकार खोसिँदै गएको गुनासो गर्छन् ।

उनले भने, “हामीले श्रम ऐन, सामाजिक सुरक्षा धेरै कुरा प्राप्त गर्यौँ तर पछिल्लो समय प्राप्त गरेका यी अधिकार खोसिएको महसुस भएको छ । त्यसैले यस वर्षको नारामार्फत सङ्गठित हौँ, प्रशिक्षित हौँ र परिचालित हुनलाई आह्वान गरेका हौँ ।” नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर मजदुर दिवस मनाइन्छ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं मजदुर नेताको बैठकले विश्व मजदुर दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउन शुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?