ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु

लोकपथ
0
Shares

धादिङ । छ वर्षीया रोशिका चेपाङलाई विद्यालय खाली खुटृा जानुपर्दा सधैँ चिन्ता हुन्छ ।

मामाघरको हजुरआमाको सहारामा बस्दै आएकी उनीसँग जुत्ताचप्पल छैन । लगाउने लुगा पुरानो एकसरो कपडाबाहेक केही छैन । हजुरआमाले ज्याला गरेर घरमा ल्याएको दिन खाना खान पाउने रोशिका बाटो हिँड्दा पनि डराइडराइ अरुले गिज्याउँछन् कि भन्न डरले लाज मान्दै जाने गर्छिन् ।

गजुरी गाउँपालिका–६ श्यामैडाँडामा रहेको जनचेतना आधारभूत विद्यालयको कक्षा २ मा भर्ना भएकी रोशिकालाई आमाले चार वर्षअघि छाडेर अर्को विवाह गरिन् । बाबुले पनि छोरीलाई बेवास्ता गरेकाले मामाघर बस्दै आएकी उनी विद्यालय जानका लागि पनि सङ्घर्ष गरिरहनुपरेको छ ।

अर्की बालिका सपना चेपाङको पनि अवस्था उस्तै छ । कक्षा २ मा भर्ना भएकी उनलाई हजुरआमा सोनिताले विद्यालयमा भर्ना गराएकी छन् । सपनाकी आमाले पनि चार वर्षअघि घर छाडेर हिँडिन् । बाबुले अर्को विवाह गरेकाले हजुरआमाले ज्लाला मजदुरी गरेर उनलाई हुर्काए पनि सहजरुपमा पढाउन भने कठिन हुँदै आएको छ ।सोनिताले नातिनी सपनालाई अरु बालबालिकाको जस्तै आवश्यक लुगाफाटा किनिदिन सकेको छैन । साहूको बारीको अधियाँ र ज्यालाले बल्लबल्ल खान पुग्ने भएकाले नातिनी पढाउन कठिन भएको उनीको गुनासो छ ।

कक्षा १ मा भर्ना भएकी नानु चेपाङलाई पनि आमाले छाडेर हिँडेपछि मामाघरको हजुरआमाले ज्यालामजदुरी गरेर विद्यालय पठाएकी छिन् । आफूले पढ्न नपाएर दुःख पाएको विगत संझदै यिनले पढेर केही सुख पाउँलान् कि भनेर आधा पेट खाएर भए पनि नातिनी पढाएको हजुरआमा माइली चेपाङ बताउछिन्।

हजुरआमाले नै पढाउँदै आएका यस्ता सात बालबालिका त यस विद्यालयमा अभिभावकविहीन भएर कष्टपूर्ण तरिकाले विद्यालय आउने गरेको पाइएको छ । एक सय २० घर चेपाङ समुदायको बसोबास भएको तल्लो र माथिल्लो श्यामैडाँडावासी अति गरिब छन् । विद्यालयमा आउने आधाभन्दा बढी विद्यार्थीले विद्यालय पोसाक र जुत्तासमेत लाउन सक्ने अवस्था नभएको विद्यालयका शिक्षक कमला अधिकारी उल्लेख गर्छिन् ।

कक्षा ५ सम्म पढाइ हुने जनचेतना आधारभूत विद्यालयमा चेपाङ बालबालिकामात्र अध्ययन गर्छन् । अन्यत्र विद्यालयमा विद्यार्थी नआउने समस्या भए पनि यस विद्यालयमा ७१ बालबालिका भर्ना भइसकेको प्रधानाध्यापक राधा कँडेल बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?