महानगरले किन शिलबन्दी गर्यो कोतः धुकु पेट्रोल पम्प ?

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ ।

बैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ बिक्री गर्न मापदण्ड नपुगेकोले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्ग्लोले बेरेर लगाइएको तालामा शिल गरिएको छ ।

नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १६ वटा पम्पको सूचीमा यो पनि थियो । ती पम्पहरुका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको छ । ट्राफिक व्यवस्थापनलाई असहज बनाएका छन् ।

पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा बिक्रेताको मापदण्ड तोकिएको छ ।

नमूना पम्प बिक्रेताको बिक्री स्थलमा जग्गाको क्षेत्रफल तराई र भित्री मधेश बाहेकका क्षेत्र १ विगाहा (तेह्र रोपनी) र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा ५ रोपनी हुनु पर्छ । राजमार्ग वा अन्य सडकबाट करिव ५ सय मिटर भित्रको जग्गामा नमूना पम्प बिक्रेताको बिक्री स्थल निर्माण गर्दा १० मिटरको पहुँच मार्ग आवश्यक पर्छ ।

बिक्री स्थलको ड्राइभ वे, पम्पयार्ड, सार्वजनिक सडक सीमादेखि पम्पयार्ड एप्रोच रोडको कालोपत्र वा कङ्क्रिट ढलान भएको, ढुङ्गा छापेको, सिमेन्ट जोडाई भएको वा सिमेन्टबाट बनेको इन्टरलकिङ्ग टायलबाट बनेको हुनुपर्छ । बिक्री स्थलको कम्पाउण्डभित्र एप्रोच रोड, ट्याङ्क फार्म, बिक्री कक्ष, पार्किङ्ग एरिया बाहेक सवारी साधन आवत जावतमा बाधा नपर्ने गरी हरियाली कायम गरेको हुनुपर्छ ।

बिक्रीस्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाई भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग एरिया ढाक्ने गरी कम्तीमा १२ मिटर × १२ मिटरको क्यानोपी हुनुपर्छ । विक्री स्थलमा पुरुषको हकमा न्यूनतम २ वटा ट्वाइलेटसहितको ६ वटा युरिनल र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्छ । पावर व्याकअपको व्यवस्था हुनुपर्छ । कार्यालय, विक्री कक्ष, स्वस्थ्यकर पिउने पानी वा ट्युवेल व्यवस्था हुनुपर्छ । बिजुलीको तार कन्सिल वायरिङ्ग भएको हुनुपर्छ । बिक्री स्थल कम्पाउण्डभित्र पानी निकासको लागि उचित ड्रेनेजको व्यवस्था गरेको चाहिन्छ । नयाँ डिस्पेन्सिङ्ग पम्प जडान गर्नुपर्छ । पम्प परिसरमा पेट्रोलियम पदार्थ सञ्चय गर्दा एउटै पेट्रोलियम पदार्थको एउटा मात्र स्टोरेज ट्याङ्क भएमा १ वा १ भन्दा बढी डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन जोड्ने व्यवस्था हुनुपर्छ । एउटै पेट्रोलियम पदार्थको स्टोरेज ट्याङ्की एउटा भन्दा बढी भएमा अलग अलग अलग डिस्पेन्सिङ्ग पम्पसँग कनेक्सन भएको हुनुपर्छ । एकै किसिमको पेट्रोलियम पदार्थको सञ्चय गर्दा ट्याङ्कीहरु बिच इन्टरकनेक्सन जोड्न नसकिने व्यवस्था हुनुपर्छ ।

बिक्री स्थलको कम्पाउण्डभित्र अग्नि सुरक्षाका लागि प्रणाली हुनुपर्छ । यससँगै बिक्री स्थलमा रहेको अण्डरग्राउण्ड भण्डारण, यसको क्षमता र संख्या, पाइप लाइन र फिटिङ्गसको नक्साङ्गन, पेट्रोलियम पदार्थको मौज्दात विवरण सर्वसाधारणले देख्ने गरी विक्री स्थलमा राख्नुपर्छ ।

काठमाडौं र ललितपुर महानगरपालिकाभित्र ७५० वर्ग मिटर वा १ रोपनी ८ आना जग्गाको क्षेत्रफल भए पम्प सञ्चालन गर्न पाइन्छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेवलबाट १।२० मिटर अग्लो सिमेन्टको जोडाईमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०।९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।

सवारी साधन पार्किङ्गको सुविधा, शौचालय, प्राथमिक उपचार, अग्नि सुरक्षा लगायतका प्रणाली अनिवार्य छन् ।

राजधानी सहर काठमाडौंमा नमूना पम्प र काठमाडौंका लागि तोकिएका मापदण्डबमोजिमका पेट्रोलियम पदार्थ बिक्री स्थलको संख्या कति होलान्, मापदण्ड नपुगेको भए पु¥याउन कस्ता योजना बनाएका होलान्, जनचासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?