गाडी खरिदमा अनियमितताः सार्वजनिक लेखा समितिले थाल्यो छानबिन

बुटवल । प्रदेश ५ सरकारले खरिद गरेको गाडी खरिदमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन शुरु गरेको छ । 

समितिले गाडी खरिदका कागजपत्रहरु झिकाएको र यसको सत्यतथ्य छिट्टै बाहिर आउने समितिका सभापति डिल्ली चौधरीले जानकारी दिए । 

शुक्रवार पत्रकारसँग कुरा गर्दै सभापति चौधरीले भने, ‘गाडि खरिदमा अनियमितता भएको समाचार बाहिर आएको छ, सत्यतथ्य के हो फाइल मगाएर हेर्छाैं, छिट्टै निश्कर्षमा पुग्छौं ।’ 

यहि विषयमा छलफल गर्न आजै समितिको बैठक समेत बोलाएको उनले बताए । 

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमेश्वर ढकालले भने गाडी खरिदमा अनियमितता नभएको दाबी गरेका छन् भने संघीय समाजवादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले भने गाडी खरिदमा अनियमितता भएको बताएका छन् । 

फोरम सचेतक पाण्डेले यस विषयमा यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?