विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् ।
कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन् । बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ ।’

त्यस्तै कुनै पनि कर्मचारीले पारदर्शी, कर्तव्यनिष्ठा देखाउनेमा आफू विश्वस्त रहेको बताउँदै डा. महतले असारसम्ममा भन्सार असुली बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै राजस्व बढाउने नाउमा कुनै पनि करदातालाई अनावश्यक दुख दिन नदिन समेत आग्रह गरे ।
कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु,’ मन्त्री डा. महतले भने, ‘राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन । तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु ।’
त्यस्तै कर्मचारीहरुलाई पारदर्शीताका आधारमा काम गर्न र सेवाग्राहीलाई सहज र सौहार्दपूर्ण वातावर निर्माण गर्न आग्रह गरे । जिम्मेवारी बहन एउटै मात्र आधार रहेको बताउँदै त्यही अनुरुपमा काम गर्न समेत आग्रह गरे ।

डा. महतले भने, ‘समग्रमा हामी पारदर्शीका साथ हामी काम गरौं, सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गरौं, नियम, कानुनमा उनीले तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ । हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं ।’ कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउँछ, कामभन्दाबाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल माथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले गर्दैन । जिम्मेवारी बहन एउटै मात्र आधार हो । यही अनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरुलाई अनुरोध गर्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया