उपनिर्वाचन : मतपेटिका संकलन शुरु, १२ गतेसम्म परिणाम दिने आयोगको तयारी

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोगले आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ मा सम्पन्न मतदानको मतपेटिका संकलन शुरु भएको जनाएको छ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको आयोगले जनाएको छ ।

बारा २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँ १ का मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको आयोगले जनाएको छ ।

मतपेटिका मतगणना स्थलमा ल्याइसकेलगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम गणना सुरु हुने आयोगको भनाइ छ ।

आयोगले वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गर्ने जनाएको छ ।

हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ । जसअनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?