मिठाइदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

लोकपथ
35
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

झण्डै सात दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गरेका महत्वपूर्ण योगदानका लागि समाजले विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार शान्ति समाजले स्थापना गरेको हो । विसं २०८० मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रममा  एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने सभापति रामकृष्ण बरालले जानकारी दिए ।

विसं १९९३ फागुन १० गते इन्द्रचोक काठमाडौंमा जन्मिएकी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला छिन् । पशुपतिनाथ मन्दिरमा ‘कुकुर र अछुतलाई प्रवेश निषेध’ गरिँदै आएकामा त्यसको विरोध गर्दै विसं २०११ मा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनि सक्रिय रुपमा सहभागी भएकी थिइन्।

युवा अवस्थामै विसं २०१२ मा उनले नेपाल परिगणित नारी सङ्घको स्थापना गरी सो संस्थामार्फत काठमाडौंको दलित बस्तीमा विद्यालय स्थापना गरिन् । दलित समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा महत्वपूर्ण योगदान गरिन् ।

नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि सङ्घर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान  गरेकी मिठाइदेवीले टीआर विश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उनिको सक्रियता अझ बढेर गएको हो ।

विश्वकर्माले भारतीय दलित साहित्य एकेडेमीद्वारा प्रदान गरिने डा अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारलगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । मदर्स केयर विद्यालयको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्राबासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।

विश्वकर्माले पत्रकारिताका क्षेत्रमा पनि योगदान गरेकी छिन् । उनिले विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गरिन् । स्रष्टा विश्वकर्माको ‘नेपाली नारीको अवस्था र अवस्थिति २०६१’ नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?