राप्रपाको चियापानमा विशिष्ट अतिथिका लागि दश हजार कार्ड वितरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा चियापान समारोहको आयोजना गर्ने भएको छ । 

यही पुस २७ गते मनाइँने राष्ट्रिय एकता दिवस एवं २९७ औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले सधैको वर्ष झै यसपटक पनि चियापान समारोहको आयोजना गर्न लागेको हो । 

शुक्रवार अपरान्ह १ बजेदेखि ३ बजेसम्म राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा हुने चियापान समारोहका लागि अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि १० हजार कार्ड वितरण गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

विज्ञप्तिमा लेखिएको छ, ‘चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाजका साथै सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ ।’

राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग माग समेत गरेको छ । 

राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?