संसद् बैठक आज बस्ने, के गर्ला कांग्रेसले ?

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । कांग्रेसको अवरोधका कारण आइतबार स्थगित भएको बैठक दिउँसो १ बजे बस्न लागेको हो । 

संसद् बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति गरी बैठक अघि बढाउने सभामुखको तयारी छ । संसद् सचिवालयले केही विधेयक पेश गर्नेगरी बैठकको कार्यसूची सार्वजनिक गरिसकेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पेश गर्नेछन् भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक र प्रशासकीय अदालत विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा कांग्रेसले अवरोध नगर्ने संकेत गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सभामुखले संसद नियमावलीको नियम २१९ अनुसार सार्वजनिक महत्त्वको विषयमा मन्त्रीले संसदमा दिएको वक्तव्यमाथि प्रश्न सोध्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए । 

आजको बैठक चल्ने–नचल्ने सभामुखको भूमिकामा निर्भर रहने उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?