काठमाडौं । नेपाली कांग्रेस लम्जुङका पुराना नेता तारा कोइरालाको निधन भएको छ । ७५ वर्षीय कोइरालाको उपचारका क्रममा मंगलबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
विसं २०३६ सालमा स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बीपी कोइरालालाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागेर तारा कोइराला गम्भीर घाइते भएका थिए। उक्त गोली काण्डपछि उनको एउटा खुट्टा काट्नु परेको थियो ।
पञ्चायतको जगजगीविरुद्ध २०३६ असोज पहिलो साता स्याङ्जाको राङखोलामा नेपाली कांग्रेसले आमसभा आयोजना गरेको थियो । सोहि सभामा लमजुङ कांग्रेसका संस्थापक सभापति तारानाथ कोइराला पनि पुगे ।
त्यतिबेला अहिलेजस्तो विरोध सभा गर्न सकिने अवस्था थिएन । सभा सकिएपछि पञ्चायती व्यवस्थाका पक्षधर र प्रहरीसँग झडपको अवस्था आयो ।
बीपी कोइराला सभाबाट फर्कंदै गर्दा गोली चल्न थाल्यो । बीपी कोइरालालाई नै ताकेर गोली चलाउन लागेको देखेपछि तारानाथ उनका अगाडि गएर उभिए र उनको खुट्टामा गोली लाग्यो । त्यसयता उनी अपांग जीवन बिताइरहेका थिए ।
आन्द्रासम्बन्धी समस्याका कारण तारानाथ पछिल्लो समय मणिपाल शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छ ।
यसैबीच, कोइरालाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदान कांग्रेसको इतिहासमा सदैव स्मरणीय रहने उल्लेख गरेका छन् । उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन् ।
‘कांग्रेसका क्रियाशील व्यक्तित्व एवं मेरा मित्र तारा कोइरालाको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया