काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायको कामलाई चुस्तदुरुस्त बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले मुख्यतः दुई कुराबाट सुरक्षा निकायलाई मुक्त राख्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री श्रेष्ठले आफ्नो कार्यकालबाट शक्तिकेन्द्र तथा राजनीतिक दबाब र अवान्छित चलखेलबाट सुरक्षा निकायलाई मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे । आफूले सो कुराको सुरुवात गर्ने र आगामी दिनमा पनि त्यसको निरन्तरता दिनुपर्नेमा जोड दिए ।
‘मुख्यतः सुरक्षा निकायलाई दुई कुराबाट मुक्त राख्नुपर्छ र राख्नेछु । पहिलो शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राख्नुपर्छ । दोस्रो अवान्छित चलखेलबाट मुक्त राख्न सकिएमा निष्पक्ष न्याय हुन सक्दछ ।’ गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै आफूले कार्यभार सम्हाल्दै गर्दा यसअघि मन्त्री र सचिवले सुराकी खर्चको नाममा बिना बिल भरपाई लिँदै आएको सुराकी भत्ता हटाएकोप्रति सकारात्मक प्रतिक्रिया आएको बताउँदै आगामी दिनमा थप जनताले प्रशंसा गर्नेगरी काम गर्ने बताए । बिचौलिया प्रथालाई अन्त्य गर्दै राज्यका सबै निकायमा नागरिकको समान पहुँच कायम गर्न लागि पर्ने विश्वास व्यक्त गरे ।
‘हरेक क्षेत्रमा हुने गरेको बिचौलियाको चलखेललाई शुन्यमा झारिन्छ ।’ उनले भने, ‘राज्यका सबै निकायमा नागरिकको समान पहुँच पुर्याउने गरी काम गर्छु ।’
त्यस्तै महिला, दलित तथा उत्पीडित वर्गको हकहितका लागि काम गर्न आफू लागि पर्ने बताए ।
जेल सुधार, अध्यागमनको काम कारबाहीलाई चुस्तदुरुस्त बनाउने र राष्ट्रिय परिचयपत्र वितरणका लागि राज्यका सबै निकायहरुलाई सक्रिय बनाउनेमा जोड दिए ।
नागरिकताको सन्दर्भमा राष्ट्रिय सहमतिको खाँचो भएको बताउँदै वास्तविक नागरिकलाई छिट्टै नागरिकता दिने विषयमा आफूहरु गम्भीरताका साथ लाग्ने बताए ।
गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि आफू र सरकार लागिपरेको बताए । पीडकहरुलाई कानुनी दायरामा ल्याउन पहल गरेको बताउँदै मिटरब्याजीहरुको सम्पती समेत सम्पती समेत छानबिन गर्ने उनले बताए ।
त्यसैगरी सुशासन बिना देश समृद्ध हुन नसक्ने भन्दै हरेक नागरिकलाई हरेक क्षेत्रमा सुशासन रहेको प्रत्याभूती दिलाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आजको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पत्रकारहरुसँग सुझाव समेत संकलन गरेका छन् । मन्त्रालयसँग सम्बन्धित विषयमा लामो समयदेखि कमल चलाइरहेको पत्रकारहरुसँग सुझाव संकलनपछि गृहमन्त्री श्रेष्ठले ती सुझावहरुलाई सिरोधार्य गरेर अघि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया