रवि लामिछानेले भने– ‘चोट लागेका बेला नुनचुक बोकेर नआउनुहोला’

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक दुर्घटनामा परेकोबारे प्रहरीबाट अनुसन्धान भइरहेको बताएका छन् ।

लामिछालेले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको तर स्थिर रहेको जानकारी दिएका छन् ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचाररत शम्भुको बारेमा आफूसँग भन्ने कुनै शब्दै नभएको बताएका छ । ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नु भयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ’, लामिछानेले भने, ‘प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन ।’ उनले भने ।

उनले आफू नेता भन्दा पहिले मानिस भएको उल्लेख गर्दै भनेका छन्, ‘ म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला।’

उनले स्तरहीन बनेर राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् । ‘सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?