२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ : देवेन्द्र पौडेल

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले २५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउने प्रश्नको जवाफ दिने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने,‘प्रधानमन्त्रीले अब बस्ने सदनको बैठकमा जवाफ दिनुपर्छ । सरकार जवाफ नदिई भाग्दैन । सरकारले दृढतापूर्वक सांसदले उठाएको प्रश्न फेश गर्छ । प्रधानमन्त्रीज्यूले जवाफ दिनुहुन्छ ।’
पौडेलले सांसदले उठाएको प्रश्न प्रधानमन्त्रीलेमात्रै नभई सम्बन्धित मन्त्रीहरुले पनि दिने स्पष्ट पारे । उनले भने,‘सांसदले उठाएका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले पनि दिनुहुन्छ । सरकार भाग्दैन । सभामुख पनि भाग्नुहुँदैन् ।’
 
पौडेलले सभामुख महराले संसदमा निरंकुशता लाद्ने कुनै सम्भावना नभएको पनि विश्वास दिलाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् ।  
उनले भने,‘यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भैरहेको छ । संसद भनेको सरकारलाई उत्तरदायी बनाउने संस्था हो । तर, हिजो सदनमा सांसदहरुलाई प्रश्न गर्नसमेत दिईएन् । हामी सबैले मिलेर बनाएको प्रतिनिधिसभा नियामावली–२०७५ को नियम २१९ उपनियम (१) बमोजिम प्रधानमन्त्रीले बोल्नुभएको हो । नियम २१९ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको वक्तव्यमा आधारित भएर प्रश्न सोध्न पाउने व्यवस्था छ । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?