विदुर । नुवाकोटका उद्यमी व्यवसायीहरुको छाता संस्था नुवाकोट उद्योग वाणिज्य संघको १८ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशन आगामी वैशाख ८ गते शुरु हुने भएको छ ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले व्यवसायी नेताहरु नेतृत्व चयनको दौडधुपमा लागिसकेका छन् भने संघको नेतृत्वमा आउन चाहनेहरुले बैठक र भेटघाटलाई तिब्रता दिईरहेका छन् ।
विगतमा कांग्रेस र एमाले निकट व्यवसायीहरुबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने गरेको भएपनि यसपटक अवस्था फरक देखिएको छ । एमाले निकटका व्यवसायीहरुले नेतृत्वका लागि आकाँक्षा नदेखाउँदा नयाँ नेतृत्वका लागि कांग्रेस निकट व्यवसायीहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
आपसमै प्रतिस्पर्धा हुने भएपछि कांग्रेस निकट व्यवसायीहरुले पार्टीका केन्द्र देखि जिल्ला तहका नेताहरुलाई आफ्नो पक्षमा देखाउने कसरत समेत शुरु गरिसकेका छन् ।
यसपटक नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष पदमा अहिलेकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य र प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
अमात्य र श्रेष्ठलाई नेपाली कांग्रेसभित्र एउटै समूहको रुपमा लिईने भएपनि उनीहरु दुईको विषयमा पार्टी भित्र स्पष्टरुपमा दुईवटा धार देखापरेको छ । अमात्यलाई कांग्रेस केन्द्रीय प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महत र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको स्पष्ट समर्थन रहेको छ । जिल्ला सभापति रमेशकुमार महत एकमात्र उम्मेदवार बनाएर जानुपर्ने पक्षमा रहेपनि पार्टीको आन्तरिक समिकरणको प्रभाव वाणिज्य संघमा देखिएका कारण निर्वाचन हुने परिदृष्य देखिएको छ। यता नुवाकोट कांग्रेसको केसीसमूहले स्पष्ट धारणा सार्वजनिक गरिनसकेका कारण संघको निर्वाचन झनै पेचिलो बन्दै गएको छ ।
आफू निकटकाहरुको सम्मानजनक उपस्थिती खोजिरहेको केसीसमूहको निर्णय संघको निर्वाचनमा निर्णायक हुने अवस्था बन्दै गएको छ ।
करिब एकहजार तीनसय मतदाता रहेको नुवाकोट उद्योग वाणिज्य संघमा यसअघिको निर्वाचनमा सर्वाधिक मतसहित अमात्य बरिष्ठ उपाध्यक्षमा विजयी भएकी थिईन् । नुवाकोटका व्यवसायीहरु माझ लोकप्रिय र सहयोगीको रुपमा परिचित अमात्य र मिलनसार छवीका श्रेष्ठबिचको प्रतिस्पर्धा अत्यन्तै रोचक हुने विश्लेषण गर्न थाालिएको छ । यसैगरी संघको बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र प्रवक्ता पदमा कृष्ण अधिकारी, सन्तोष उप्रेती, उपेन्द्र बुढाथोकी, दिनेशकुमार श्रेष्ठ, सबिन राजभण्डारी, मधुसुदन थपलिया, हरिशरण रिमाल, निरज खड्गी, राजकुमार आचार्य, बिष्णु प्याकुरेल, मेघनाथ घिमिरे लगायतको नाम चर्चामा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया