काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बेला-बेलामा आफ्ना अभिव्यक्ति र भाषणले चर्चामा आइरहन्छन् ।
महोत्वकांक्षी तथा व्यङ्गयत्मक भाषणले धेरै जसोलाई मख्ख बनाउने प्रधानमन्त्री ओलीले आइतबार संसद बैठकलाई सम्बोधन गरे ।
धेरै जसो समय आर्थिक विषयमा फोकस गरेका प्रधानमन्त्रीले संसदमा गलत तथ्यांक प्रस्तुत गरे भने राजनीतिक रुपमा पनि प्रधानमन्त्री अलि बढी डिफेन्सिभ देखिए ।
सम्बोधनमा निकै तथ्यपरक देखिएका उनले प्रस्तृत गरेका तथ्यमा भने गल्ती भेटिएको छ । प्रधानमन्त्रीको सम्बोधनले केहि प्रश्नसमेत उठाएको छ ।
अहिलेका चर्चित प्रकरण वाइडबडीको अनियमितताका बारेमा प्रधानमन्त्रीले एक शब्द समेत उच्चारण गरेनन् भने निर्मला प्रकरणमा पनि कुनै ठोस प्रतिबद्धता गरेनन् ।
आमरुपमा कुनै पनि विषयमा छानबिन गर्न तयार रहेको बताएका उनले परिणामको बारेमा बताएनन् ।
त्यस्तै प्रधानमन्त्रीले ३३ किलो सुन प्रकरणमा १५० भन्दा बढी पक्राउ परेको बताए पनि अहिले हरेक दिन जसो अदालतबाट छुटिरहेको विषयमा भने केहि उल्लेख गरेनन् ।
उनले आफ्ना अघिल्ला भाषणको निकै बचाउ गरे, पानी पहाज र रेल चाडै आउने भन्दै टिकट काट्न तयार रहन आग्रह गरे ।
प्रधानमन्त्रीका गलत आँकडा
प्रधानमन्त्रीले संसदलाई सम्बोधनका क्रममा अधिकांश गलत तथ्यांक प्रस्तुत गरेको पाइएको छ ।
अर्थतन्त्र राम्रो भनेर उनले उल्लेख गरेका तथ्यांकहरुमध्ये राजस्व संकलनको तथ्यांकमात्र सही छ । त्यसबाहेक अधिकांश तथ्यांक गलत छन् ।
अर्थतन्त्रको वास्तविक अवस्थालाई गलत रुपमा व्याख्या गरेका प्रधानमन्त्रीले पूँजीगत खर्च २५ दशमलब तीन प्रतिशतले वृद्धि भएको बताए । तर त्यो महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकसँग मिलेन ।
विकास खर्चको हिसाब राख्ने आफ्नै अर्थमन्त्री डा. युवराज खतिवडा अन्तर्गतको महालेखाले शनिबारको खर्च निकै कम भएको देखाएको छ । तथ्यांक अनुसार विकास खर्च जम्मा १५.४३ प्रतिशत मात्र भएको छ ।
मूल्य वृद्धि दरमा पनि प्रधानमन्त्रीले ढाँटेका छन् । मूल्य वृद्धि दर ३.७ प्रतिशत मात्र रहेको भनेर संसदमा भाषण गरे । तर मूल्य वृद्धिको हिसाबकिताब राख्ने राष्ट्र बैंकको तथ्यांकमा ४.२ प्रतिशतले भाउ बढेको उल्लेख छ ।
व्यापारघाटाको तथ्यांक प्रस्तुत गर्दा पनि प्रधानमन्त्रीले झुट बोलेका छन् । उनले गत वर्षको तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा १ दशमलव ५ प्रतिशत मात्रै व्यापारघाटा बढेको उल्लेख गरेका छन् ।
तर, यस वर्ष ५ महिनाको तथ्यांक आइसकेको छ र सो अवधिमा व्यापारघाटा साढे ३५ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ ।
त्यस्तै प्रधानमन्त्रीले निर्याततर्फ यस अवधिमा नेपालको कुल निकासी १२.३ प्रतिशतले वृद्धि भएको बताएका छन् तर, सोही अवधिमा आयात ३३.८ प्रतिशतले बढेको विषयलाई भने उनले लुकाए ।
५ महिनामा ३७ अर्ब ५० करोड रुपैयाँ स्वदेश भित्रिएको उल्लेख गरिरहँदा ६ खर्ब ७ अर्ब बाहिरिएको तथ्य भने प्रधानमन्त्रीले संसदमा उल्लेख नै गरेनन् ।
नेपाल राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड घाटामा छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४० करोड बचतमा थियो । तर, प्रधानमन्त्रीले भने शोधनान्तर बचतमा केही कमी आएको बताएर संसदमा सिधै झुटो बोलेका छन् ।
प्रधानमन्त्रीले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको छ, भ्रममा रहनु उपयुक्त छैन भने । वास्तविकता भने उनले भने जस्तो होइन, यातायात सिन्डिकेट अन्त्य भएको छैन ।
सार्वभौम संसदमा आर्थिक वृद्धिद्धदर, मुल्यवृद्धि, विकास खर्च लगायतका विषय पेश गरिरहँदा सत्तारुढ सांसदहरुले समर्थनमा ढ्यापढ्याप पारे ।
तर, त्यसमा धेरै गलत भएको चाल पाएनन् । चाल पाएरै टेबुल ढ्यापढ्याप पारेका हुन् या साच्चिकै चाल पाएका होइन, त्यो त उनै सांसदलाई थाहा होला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया