रवि लामिछाने भन्छन्, ‘उपनिर्वाचनको मुखमा भ्रमपूर्ण समाचार फिँजाइयो’

लोकपथ
78
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उनी गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको विवरण संकलनको जिम्मा विदेशी कम्पनीलाई दिएको भन्ने प्रकाशित समाचारबारे आपत्ति जनाएका छन् ।

बिहीबार कान्तिपुर दैनिकमा ‘रविको फास्ट ट्रयाक ः ७ दिने बोलपत्र गरेर ठेक्का’ शीर्षकको समाचार प्रकाशित भएको छ । त्यसबारे सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिँदै लामिछानेले समाचारमा भएको जस्तो नभएको जिकिर गरेका छन् ।
नागरिकका वैयक्ति तथा जैविक विवरण प्रमाणीकरण गर्न निजी कम्पनीलाई जिम्मा दिने कार्यविधि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको भनिए पनि त्यो नियमित कार्यविधिबाट भएको बताए ।

‘समाचारमा पुस १३ मा निजी कम्पनीलाई नागरिकका वैयक्ति तथा जैविक विवरण प्रमाणीकरण गर्न निजी कम्पनीलाई जिम्मा दिने कार्यविधि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको लेखिएको छ। सोही समाचारमा गृहमन्त्रीका रुपमा मेरो शपथ ग्रहण पुस ११ गते भएको भनिएको छ।’ उनले भने, ‘पुस ११ गते शपथपछि सोही साँझ पदभार ग्रहण गर्दा कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने विषयमा पहिलो निर्णय म आफैले लेख्न लगाई हस्ताक्षर गरेको थिएँ। त्यसबाहेकका अन्य कामकारबाही म मन्त्री भएर आउनुभन्दाअघि मन्त्रालयको नियमित प्रक्रिया अनुसार नै भइरहेको थियो।’

उपनिर्वाचनको सम्मुखमा उम्मेवदार विशेषलाई लक्षित गरी नियोजित र भ्रामक सूचना सम्प्रेशण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘उपनिर्वाचनको अगाडि उम्मेदवार विशेषलाई लक्षित गरी नियोजित रुपमा भ्रामक सूचना सम्प्रेषण गर्ने यस्तो प्रयासलाई मतदाताले राम्रैसँग बुझ्ने र आगामी वैशाख १० गते मतपत्रमार्फत् यसको जवाफ दिने अपेक्षा मैले गरेको छु। कृपया यस्तो प्रयास फेरि फेरि पनि गर्दै गर्नुहोला ! यसले मलाई सहयोग नै हुनेछ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?