नेपालीलाई भुटानी शरणार्थी बनाएको विषयले संसदमा हंगामा, गिरी र पाण्डेबीच सवालजवाफ

लोकपथ
117
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेबीच सवालजवाफ भएको छ ।

बैठकमा सांसद पाण्डेले ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजान भन्दै करोडौँ उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने विषयमा पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई र एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाम पत्रपत्रिकामा आएको उल्लेख गर्दै त्यो जघन्य अपराध भएको भन्दै अपराधीलाई कारबाहीको माग गरेका थिए ।

सांसद पाण्डेले भनेका थिए, ‘८ सय ७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै १० लाख देखि ५० लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको छ । त्यसमा कसले उठायो भन्दा पूर्वगृहमन्त्रीे नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई र एमाले नेता टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझी समेतको नाम आएको छ । पत्रपत्रिकाले डेढडेढ करोडको चेक काटिएको प्रस्टै छापिदिएका छन् । यस्तो खालको जघन्य अपराधपूर्ण काम भएको छ । यी सबै अपराधीहरुलाई कडाइका साथ कारबाही हुनेगरी सरकारले यो तत्काल छानबिन गरोस् ।’

सो क्रममा एमाले प्रमुख सचेतक गिरीले आपत्ती जनाउँदै आफ्ना नेताहरुको बचाउनमा उत्रिएका थिए । प्रमुख सचेतक गिरीले सांसद पाण्डेले अपराधी भनेको भन्दै आपत्ति जनाए । उक्त अभिव्यक्ति संसदमा विद्यमान नियमावलीको विपरित रहेको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका थिए ।

‘मान्यज्यूले सदनमा आफ्नो विचार राख्ने सन्दर्भमा यही सभाको प्रतिनिधि सभाको सदस्य माननीयलाई अपराधी भनेर बोल्नुभयो । यो हाम्रो संसदमा विद्यमान निमायवलीको विल्कुलै मर्मविपरित छ र बोल्न नपाइनेगरी उहाँले यस्ता अभिव्यक्ति दिइराख्नुभएको छ । यसले संसदीय मर्यादा कायम हुन सक्दैन । पत्रपत्रिकामा के विषय आयो एउटा विषय हो । त्यो छानबिन गर्ने आफ्नो प्रक्रिया छ ।, छानबिन गर्नुपर्छ छानबिनको दायरामा ल्याउने राज्यको दायित्व हो । त्यो गरोस् तर पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीका नेता वा कुनै व्यक्तिलाई माननीय सांसदलाई अपराधीकरण गर्न पाइदैन । यसमा हाम्रो गम्भीर आपत्ति छ यो रेकर्डबाट हटाइयोस् ।’ गिरीले भनेका थिए ।

त्यसको लगत्तै सांसद पाण्डेले पत्रपत्रिकामा सांसद र उनको छोराको नाम आएको भन्दै आफूले अपराधी भनेको स्पष्ट पारे । साथै अपराधमा सांसद नै मुछिए पनि कानुनी कारबाही गर्नुपर्ने उनको माग थियो ।

‘पत्रपत्रिकामा नाम आएको छ । यही संसदको सदस्यको नाम पनि जोडेर उहाँको छोराको नाममा चेक काटेको छ । र मैले अपराधीहरुलाई कारबाही गरेर गरियोस् भनेर भन्या हो । सांसद फलानालाई कारबाही गरियोस् भनेर भन्या छैन । अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ ।’ सांसद पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?