काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेससँग भएको वार्ता आफूहरुलाई झुक्याउने प्रयन्त भएको आरोप लगाएका छन् ।
बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका जोशीले आफूहरुसँग कुनै पनि स्पष्ट कुरा नगरीकन अल्मल्याउन खोजिएको भन्दै कांग्रेससँगको वार्ता समाप्त भएको बताए ।
नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली काङ्ग्रेस सँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।’ जोशीले भनेका छन् ।
यसअघि गत चैत १९ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीको कारबाही फुकुवा गरेको थियो । साथै १० वैशाखमा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएमा क्रियाशील सदस्यता कायम हुने बताइएको थियो । तर उक्त सर्तहरु जालझेलपूर्ण रहेको जोशीले स्पष्ट पारेका छन् ।
‘नेपाली कांग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ जिल्ला क्षेत्र नं. १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार लाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ ।’ जोशीले भनेका छन् ।
आफ्नो कारबाही फुकुवा भएको भनि कांग्रेसद्वारा जारी वक्तव्य झुटो भएको बताउँदै उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या झन बल्झिएको टिप्पणी गरे ।
‘गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनि नेपाली कांग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठोहो ।’उनले भने, ‘उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ ।’
त्यस्तै उपनिर्वाचनका लागि आफूहरुको कुनै पनि उम्मेदवार नभएको र आफूहरु स्वतन्त्र रहेका कारण विवेक पुर्याएर मतदान गर्नका लागि समेत आफ्ना सुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।
जोशीले यसअघि २०७४ र २०७९ को निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएसँगै कांग्रेसले कारबाही गरेको थियो ।
आगामी उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार रहेका छन् । भट्टराई उम्मेदवार भएसँगै कांग्रेसले जोशीलाई मनाउन विभिन्न चरणको वार्ता गरेको थियो ।
https://www.facebook.com/grjoshinepal/videos/603488011679891
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया