अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौँ : अर्थमन्त्री डा. महत

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा। महतले यस्तो बताएका हुन् ।

नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्री डा. महतले बताए ।

अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए । उनले भने, ‘हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नु पर्छ । ऋण तिर्दिन भन्नु गलत हो ।’

अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन् । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्यारोहरु सिर्जना भएका छन् । सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।’

त्यस्तै बाह्य संचित, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा हामी आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गरेर सकारात्मक वातावरण निर्माण गर्न सकिने समेत उनले बताए ।

‘बाह्य सञ्चिती, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा हामी आत्तिहाल्नुपर्ने छैन । यो परिवेशमा पनि ७ अंकभन्दा माथि आर्थिक वृद्धि छ । अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रुपान्तरणको समस्या छ ।’ उनले भने, ‘उद्योग व्यवसायमा लगानीको समस्या छ । ती समस्यालाई हल गरेर एउटा सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौं भन्ने मलाई विश्वास छ ।’

अल्पकालिन र दीर्घकालिन समस्या समाधानको हल खोज्न अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने समेत बताए ।

‘अल्पकालीन र दीर्घकालीन समस्याको कुरा आएको छ । सरकारले पनि त्यही रुपमा सोच बनाइरहेको छ । अल्पकालिन समस्यामा हाम्रो ध्यान आन्तरिक खर्चमा केन्द्रित हुनेछ । साधारण खर्चमा हामी अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने छौं । साधारण खर्चभित्र तलबभत्ता मात्र छैन, सामाजिक दायित्वका कुरा छन् । शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा लगानीको कुरा छ । यी कुरा हटाउन सक्दैनौं ।’ अर्थमन्त्री महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?