काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् ।
स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले श्रेष्ठलाई सांसद पार्टी सदस्यको हैसियतले कुनै पनि काम कारबाही गर्न नपाउनेगरी निलम्बन गरेका हुन् ।
श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसको लागि पार्टीमा २ करोड बुझाउनुपर्ने भन्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ ।
त्यससँगै उनलाई सांसद र पार्टी सदस्यको हैसियतले कुनै काम गर्न नपाउने गरी निलम्बन गरिएको एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । साथै उक्त अडियो प्रकरणबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउनका लागि पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको बताएका छन् ।
‘डा. श्रेष्ठ (ढाकाकुमार) को स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई दिर्नेशन दिइएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।’
त्यस्तै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा अडियो प्रकरणका सम्बन्धमा २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिइएको छ ।
श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको भन्दै प्रसाईसँगै २ करोड डिल गरेका थिए । साथै प्रसाईले पनि आफूले पनि केही समय मागेर सो रकम उपलब्ध गराउने बचन दिएका थिए ।
उनी निलम्बनमा परेसँगै उनको पद समेत धरापमा परेको छ । गत निर्वाचनमा समापनुपातिकबाट सांसद बनेका श्रेष्ठको पद गएमा समानुपातिकको बन्दसूचीमा रहेका अन्य नेता सांसद बन्नसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया