काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले सचिव लेखराज भट्टबीच भेटघाट भएको छ ।
आइतबार बिहान धनगढी पुगेका प्रचण्ड कैलालीस्थित भट्ट निवास पुगेका हुन् ।
पूर्व माओवादी मात्र नभएर भट्ट प्रचण्डका विश्वास पात्र समेत हुन् । तर तत्कालिन नेकपाको विभाजनपछि भट्ट एमालेमा लागेका थिए ।
भेटमा वर्तमान राजनीतिका विषयमा कुराकानी भएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग बताए ।
भेटपछि उनले भने, ‘अहिले देशको राजनीतिबारे कुराकानी भयो । अन्य कुनै एजेण्डा थिएन कुराकानीको लागि ।’

भेटघाटबारे थप जिज्ञासा राख्दा प्रधानमन्त्री प्रचण्डले उक्त घरसँग आफ्नो ४० वर्षदेखिको साइनो रहेको र आफ्नै घर भएको प्रतिक्रिया दिए ।
‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ सधैँ आएर बस्ने ।’ प्रधानमन्त्रीले प्रतिक्रिया दिए, ‘झण्डै ४० वर्षदेखिको सम्बन्ध हो यो घरसँग त्यहि भएर म आएको हुँ ।’
यता भट्टले पनि आफूहरुको सम्बन्ध पूरानै रहेको बताउँदै सामान्य राजनीति बाहेक अन्य विषयमा छलफल नभएको प्रतिक्रिया दिए ।
‘हाम्रो सम्बन्ध भनेको सामान्य सम्बन्ध होइन । हाम्रो पारिवारिक सम्बन्ध हो । उहाँ यहाँ आउनु असामान्य होइन । विशेष गरी राष्ट्रिय राजनीतिकै विषयमा कुराकानी भयो ।’ उनले भने ।
त्यस्तै भेटमा पारिवारिक विषयमा कुराकानी भएको बताए ।
‘पारिवारिक, सञ्चो विसन्चोको विषयमा कुराकानी भयो ।’ भट्टले भने, ‘उहाँ यहाँ आउँदै हुनुहुन्थ्यो । फोन गर्नुभयो । कस्तो छ सञ्चोविसन्चो र चिया खाएर जान्छु भन्नुभयो ।’
भट्ट माओवादीमै फर्किन लागेको र उनलाई फकाउन आएको हो कि भन्ने सञ्चारकर्मीको आशंकामा भट्टले भने, ‘पूरानै ठाउँमा फर्किने फर्काउने अलग्गै कुरा भयो । तर त्यो अहिले सम्भावना छैन ।’
तत्कालिन नेकपा विभाजपछि एक अर्काका कटु आलोचक बनेको प्रचण्ड–भट्टबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया