१० पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । त्यसयता उनले ७ पटकसम्म मन्त्रीमण्डल बिस्तार गरिसकेका छन् । भलै, मन्त्रीमण्डलले पूर्णता पाउन भने सकेको छैन ।
मिलिजुली सरकारभित्र मन्त्रीमण्डल बिस्तारमा राजनीतिक दलहरुको बार्गेनिङ, पार्टीभित्रै किचलो जस्ता कारण भागबण्डा नमिल्दा ६ वटा मन्त्रालयले अझैपनि मन्त्री पाउन सकेका छैनन् ।
र, जतिपनि मन्त्रालयले मन्त्री पाएका छन् त्यसमा पनि समानुपातिक प्रतिनिधित्व देखिँदैन । त्यसका लागि एकपटक महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई हेरे पुग्छ । २०४८ सालयताको इतिहास हेर्ने हो भने यस मन्त्रालयमा पुरुष मन्त्रीको नै हालीमुहाली रहेको देखिन्छ ।
यसपाली पनि महिला मन्त्रालयको बागडोर सम्हाल्न नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव पुगेका छन् । गत चुनावमा माओवादी केन्द्रको सहयोगमा सांसद बनेका यादव महिला मन्त्रालयको नेतृत्वमा पुग्नुले स्वयम् प्रधानमन्त्री र उनका पुलिन्दा भाषणलाई नै गिज्यारहेको छ । सधैं महिला अधिकारको सुनिश्चितता माओवादीको सशस्त्र द्वन्दले नै स्थापित गरेको हो भन्दै भाषण गर्ने प्रचण्ड र उनकै नेतृत्वमा महिला मन्त्रालयको जिम्मेवारी पुरुषले पाउनुले कस्तो सन्देश देला ?
महिला मन्त्रालयमा पुरुष मन्त्रीको इन्ट्री भएको अहिले मात्रै होइन । त्यसको फेहरिस्त हेर्न वि.सं.२०५२ सालतिर फर्किनुपर्छ । २०५२ सालदेखि अहिलेसम्म ४८ पटक मन्त्री फेरिएका छन् ।
त्यसयता ४९ पटक भन्दा बढी यो मन्त्रालयको नेतृत्व फेरबदल भइसकेको छ । जसमा ३४ जना मन्त्रीले बागडोर सम्हालिसकेका छन् । त्यसमध्ये १४ पटक मात्रै मन्त्रालयले महिला मन्त्री पाएको छ । बाँकी २० पटक पुरुषले नै यस मन्त्रालयको जिम्मेवारीमा सम्हालेका छन् ।
राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिताको भनेपनि महिला मन्त्रालयमा पुरुषहरुले नै कब्जा जमाएका कारण नेताहरुले भन्ने गरेको महिला उत्थानको विषय केवल ओठे भाषणमा मात्रै सिमित भएको देखिन्छ ।
उपेक्षामा महिला मन्त्रालय, को–को भए मन्त्री ?
२०५२ सालमा शेरबहादुर देउवाले सुरुवात गरेका यस मन्त्रालयमा ४५ भन्दा बढी पटक नेतृत्व हेरफेर भएको छ । भने १४ जना राज्य मन्त्री र ५ जना सहायक मन्त्री भइसकेका छन् ।
सुरुवाती वर्षहरूमा सहाना प्रधान, अष्टलक्ष्मी शाक्य महिला नेतृहरु यस मन्त्रालयका मन्त्री बनेका थिए । उक्त मन्त्रालय गणतन्त्र स्थापनापश्चात् भने सधैं उपेक्षित रह्यो । अहिलेसम्म यो मन्त्रालय सम्हालिसकेको मन्त्री पुनःयही मन्त्रालयमा फर्केको रेकर्ड पनि छैन ।
यसरी महिला मन्त्रालयमा पुरुष मन्त्रीहरुको दबदबाले अन्य मन्त्रालय जस्तै महिला मन्त्रालयले पनि उचित काम गर्न सक्छ भन्नेमा शंका गर्ने प्रशस्त ठाउँहरु छन् ।
महिला बालबालिका मन्त्रालयमा को–को भए मन्त्री ?

अरु मन्त्रालयले पनि पाएन विषयविज्ञ मन्त्री
यी र यस्तै कारण मन्त्रालयले मन्त्री पाए पनि देशले भनेजस्तो निकाश भने पाउन सकेको छैन । रोचक कुरा त के छ भने १७ पटक मन्त्री भएकाहरु पुनः दोहोरिएका छन् । यद्यपि, उनीहरु कामको मूल्यांकनको आधारमा नभई राजनीतिक भागबण्डाका आधारमा मन्त्री बनिरहेका छन् । जसबाट जनहितमा सकारात्मक प्रभाव पार्छ भन्ने आँकलन गर्न गाह्रो छ ।
साथै, मन्त्रालयले आफ्नो स्वरुपका आधारमा मन्त्री पाएन भन्ने कुरा एकातिर छ भने अर्कोतिर विषय विज्ञताका आधारमा मन्त्रालयले मन्त्री पाएका छन् त ? प्रश्न स्वभावैले उठ्छ ।
तर, यो प्रश्न उठेको वर्षौ भइसक्यो । जो सँग सम्बन्धित विषयसँग सम्बन्धित दक्षता नै छैन उसले कस्तो डेलिभरी देला ?
‘अचानोको बेथा खुकुरीलाई के था’ भन्ने नेपाली भनाइ जस्तै कुनैपनि मन्त्रालयको जिम्मेवारी दिँदै गर्दा त्यस क्षेत्रको बेथिति र समस्यासँग परिचित भएको व्यक्तिलाई दिइयो भने त्यसले मुलुकलाई छिटो निकास दिन सक्छ ।
संविधान नबन्दासम्म स्थिर सरकार नभएको कारण देशले निकाश पाउन नसकेको भनियो । संविधान पनि बन्यो, त्यसपछि भएको निर्वाचनमा सबै दलहरुले अब हामी स्थिरता दिन्छौँ भनेर भोट मागे । भोट पाए तर दलीय भागबण्डा नमिल्दा बिचमै सरकार गिराउने र नयाँ बनाउने प्रवृत्तिको कारण अहिले पनि अदृश्य अस्थिरताको दल–दलबाट नेपाल बाहिर निस्किन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया