काठमाडौं । वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे आज प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेकपाका सांसदहरुले आपत्ति जनाएका छन् ।
शुक्रवार बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधिकांश सांसदहरुले पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिस प्रति आपत्ति जनाएका हुन् । साथै मुल समितिमा प्रतिवेदन पेश गर्नुअघि नै निष्कर्षहरु सार्वजनिक गरिएकोमा समेत आपत्ति जनाएका छन् ।
त्यस्तै वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि नै नेकपाका सांसदहरुले प्रश्न उठाएका छन् ।
यता नेकपाका सांसदहरु हृदयेश त्रिपाठी, विशाद भट्टराई, सूर्य पाठक र प्रेम राईले मन्त्रि अधिकारी र गृहसचिव राईको बचाउ गरेका छन् ।
सांसद त्रिपाठीले उपसमितिको प्रतिवेदनमाथि नै प्रश्न उठाएका छन् ।
प्रतिवेदनमा पूर्वमन्त्रीलाई नैतिक जिम्मेवारी लिनुपर्छ भनिएकोमा त्रिपाठीले आपत्ति जनाए । उनले नैतिक भनेको के हो ? भन्दै प्रश्न गरे ।
त्यस्तै अर्का सांसद सूर्य पाठकले उपसमितिको प्रतिवेदन प्राकृतिक न्याय र निश्पक्षताको सिद्धान्तअनुसार छ कि छैन भन्दै प्रश्न गरे ।
‘अनियमितताको प्रारम्भिक विन्दु नक्कली कम्पनी खडा भएको ठाउँबाट हो । जसका पालामा बैना दिइएको छ, उसले नैतिक जिम्मेवारी लिनुपर्ने, पुछारमा किस्ता दिनेलाई हदैसम्मको कारबाही गर्ने सिफारिस प्रकृतिक न्यायको सिद्धान्त र निश्पक्षताको सिद्धान्तमा छ ?’ पाठकले सार्वजनिक लेखा समितिको छलफलमा प्रश्न गरेका छन् ।
त्यस्तै नेकपाका अन्य सांसदहरु यज्ञबहादुर बोहरा, पुष्पाकुमारी कर्णले पनि उपसमितिको प्रतिवेदन शुरुमै सञ्चरमाध्यममा आएकोमा आपत्ति जनाए । उनीहरुले पूर्वमन्त्री र वर्तमानमन्त्रीलाई फरक कारबाही सिफारिस गरेकोमा असन्तुष्टि समेत जनाएका हुन् ।
वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिले अधिकारीसँग पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देव, गृहसचिव राई, पर्यटन सचिव, वायुसेवा निगमका महाप्रबन्धन सुगतरत्न कंसकारलाई कारबाही सिफारिस गरेको छ । पूर्वमन्त्री शाही र देवले नैतिक जिम्मेवारी लिनुपर्ने र अधिकारीलाई कानुनबमोजिम कारबाही सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया