मन्त्रिपरिषद् विस्तार : अझै भएन पूर्णता, कसलाई कुन जिम्मेवारी ?

लोकपथ
390
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णता भने पाउन सकेको छैन ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले ७औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसबाट पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री प्रकाश शरण महत अर्थमन्त्री बनेका भएका छन् । यस्तै रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री भएकी छिन् ।

५ मन्त्रालयसहित सरकारको नेतृत्व माओवादी केन्द्रले गरेको छ। जसअनुसार यसअघि उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानसहित गृहमन्त्री भएका छन् भने शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम भएको छ ।

२ मन्त्रालसहित सरकारमा जान लागेको एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जसपाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवजारी अशोक राईलाई दिइएको छ भने अन्य एक मन्त्रीका बारेमा छलफल भइरहेको छ ।

यता लोसपाबाट शरदसिंह भण्डारी भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

त्यसो त अझै ५ मन्त्रालयको भागबण्डा भने टुंगिन बाँकी रहेको छ । जसमा जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । त्यसमा ४ मन्त्रालय कांग्रेस र एक मन्त्रालयमा जसपा हुनेछ ।

यता खानेपानी मन्त्रालय सम्हालेको जनमत पार्टी अन्तिम अवस्थामा सरकारबाट बाहिरिएको छ । केहीबेरअघि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा बुझाएका छन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि बाँकी मन्त्रालय भने प्रधानमन्त्री प्रचण्डकै जिम्मेवारीमा रहेको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?