काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्ना सांसदलाई प्रशिक्षित तुल्याएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विज्ञसँग समग्र विधेयकको अर्थ, उद्देश्य र कानूनी पाटोबारे कांग्रेसले अन्तक्रिया गरी विधेयकबारे सांसदलाई जानकारी गराएको हो ।
उक्त कार्यक्रमपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुरूप प्रस्तावित विधेयकबारे विज्ञसँग गहन छलफल र अन्तक्र्रिया भएको बताए ।
विधेयकको अर्थ, कानूनको आवश्यकता र पक्षमा सांसदले राख्नुभएको जिज्ञासालाई विज्ञले स्पष्ट पार्ने कोसिस गरेका थिए । प्रमुख सचेतक लेखकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पु¥याएर पीडितले न्याय पाउने, परिपूरण प्राप्त गर्ने र समाजमा मेलमिलाप पनि हुने स्थिति सिर्जना गरेर अघि बढनुपर्छ भन्ने निष्कर्षमा पुगेको प्रतिक्रिया दिए
उनले भने, “अब सशस्त्र द्वन्द्वका समयमा जति पनि घटना भएका थिए, त्यसलाई उचित ढङ्गले तार्किक निष्कर्षमा पु¥याउनुपर्छ भन्नेमै छलफल केन्द्रित रह्यो ।” छलफलमा दुवै आयोगका हालसम्म भएका र अब गर्नुुपर्ने काम, ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय कानून, अबको बाटो र कानूनमा अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा विज्ञले जानकारी गराए।
विज्ञका रूपमा पूर्वमन्त्री डा मीनेन्द्र रिजाल, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सत्यनिरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्ट, संवैधानिक कानून व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजु चापागाईं र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गङ्गाधार अधिकारीलाई आमन्त्रण गरिएको थियो । छलफलका क्रममा विज्ञहरूले दलगतभन्दा सांसदले व्यक्तिगत वा समूहगत संशोधन हाल्न सुझाव दिएका थिए ।
प्रतिनिधिसभाबाट गत आइतबार उक्त विधेयकमाथि विचार गरियोस् भनी राखिएको प्रस्ताव स्वीकृत भएको छ ।
विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय प्रदान गरेकामा हालसम्म सांसद चित्रबहादुर केसी, गोकुल बास्कोटा, रघुजी पन्त, मैना कार्कीसहितले फरक फरक विषयमा संशोधन गर्न माग राखेका थिए ।
उनीहरूले खासगरी द्वन्द्वका समयमा भएका सबै घटनालाई एउटै आधारमा हेरिन नहुने तथा आयोगको कार्यकालका विषयमा केन्द्रित रही संशोधन हालेको थाहा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया